कास्कीमा ६७ प्रतिशत मत खस्यो
7-December-2017


उमा आलेमगर
पोखरा, २१ मंसिर

प्रतिनिधीसभा र प्रदेशसभाको बिहिबार भएको दोस्रो चरणको निर्वाचनमा कास्कीमा ६७ प्रतिशत मत खसेको छ । बिहिबार विहान ७ बजेदेखि अपराह्न  ५ बजेसम्म भएको मतदानमा ६७ प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

दोस्रो चरण अन्तर्गत कास्कीको आजको निर्वाचन शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । कास्कीका सबै मतदान केनद्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको सुवेदीले बताए ।

कुनै राजनीतिक दल र उम्मेदवारहरुबाट समेत मतदानका विषयमा कुनै गुनाशो नआएको उनको भनाई छ । ‘‘कुनै ठाउँमा त्यस्तो केही भएको छैन, एकदमै शान्तिपूर्ण रुपमा मतदान भएको छ,’ सुवेदीले भने, उम्मेदवारहरुबाट समेत कुनै कम्प्लेन आएन ।’’ प्रतिनिधीसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा पनि मतदाताको उत्साहपूर्ण सहभागीता रहेको उनले बताए । मतगणना भने भोलि विहानबाट हुने सुवेदीले जानकारी दिए ।

कास्कीमा १ सय ५० मतदानस्थल, ३ सय १७ मतदान केन्द्र र ३ हजार ८ सय कर्मचारी परिचालन गरिएको थियो ।