एमाले दाल, माओवादी घ्यू ः बराल
12-January-2018


जकसन डटकम
पोखरा, २९ पुस

हरेक क्षेत्रमा ‘सिजन’ हुन्छ तर, राजनीतिमा हुँदैन । राजनीतिक दलहरुको चटारो पनि कहिल्यै सकिँदैन । सङ्गठन निर्माण, बैठक, भेला र चुनाब उनीहरुको खेती मानिन्छ । कतिपयको लागी त राजनीति पेशा नै बन्ने गरेको छ । कम्युनिष्ट पार्टीमा त पूर्णकालीन नेता, कार्यकर्ता हजारौँको संख्यामा रहने गर्दछन् । सानै (२०४६ को जनआन्दोलनपूर्व) देखि नै कम्युनिष्ट आन्दोलनमा सहभागी भएर २०५२ सालदेखि हालसम्म पूर्णकालीन रहनेमध्येका एक नेता हुन् रामजीप्रसाद बराल । उनी नेकपा (माओवादी केन्द्र), कास्कीको पूर्वइन्चार्ज र केन्द्रीय पोलिटब्यूरो सदस्य पनि हुन् । हाल उनी प्रदेश नं ४ अन्तर्गतको कास्की जिल्ला निर्वाचन क्षेत्र नं ३ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी प्रभावशाली नेतृ शारदा पौडेललाई फराकिलो मतान्तरले पराजित गरेका थिए । अध्यक्ष प्रचण्डको विश्वासपात्र मानिने नेता बराल यतिबेला पनि जनभेटघाटकै क्रममा छन् ।

बिहीबार सञ्चारकर्मीहरुसँग पनि विशेष भेटघाट गर्दै नेता बरालले नेकपा (एमाले)लाई दाल र आफ्नो पार्टीलाई घ्यूको संज्ञा दिए । नेकपा (माओवादी केन्द्र)को एमालेसँगको एकतालाई माओवादीको बिसर्जनको आरोप लागीरहेका बेला बरालले भने– ‘यो एमाले र माओवादीको एकता प्रचारमा गरिएजस्तो बिसर्जन वा विलय केही होइन । हामीले दुबै पार्टी भत्काएर नयाँ पार्टी बनाउन लागेका हौँ । एमाले माओवादीमा जाने र माओवादी एमालेमा जाने कुरा बिल्कुल होइन । बरु, एमाले र माओवादी एक–अर्कोमा जाने–आउने कुरा हो । बिसर्जन र बिलयको कुरा गर्ने त एकताबिरोधीले मात्रै हो । यो दुवै शक्तिशाली पार्टी एउटै विशाल पार्टी बन्ने प्रक्रिया हो । यसले प्रगतिवादी सोच राख्ने कसैलाई घाटा गर्दैन, सबैलाई फाइदै पुग्छ । त्रिशुलीमा मस्र्याङ्दी मिसिएपछि त्रिशुली नै हुन्छ भन्ने तर्क पनि सुनिन्छ । तर, एक कचौरा दालमा एक चम्ची घ्यू हाल्दा घ्यूको स्वाद आउँदैन र ? एमाले दाल र माओवादी घ्यूजस्तो हो ।’

सो भेटमा उनले पार्टी एकतालाई कम्युनिष्ट आन्दोलनमा भएको टुट–फुट र विभाजनबाट परिवर्तनशील शक्ति र मुलुकलाई पुगेको क्षतिलाई पूर्ति गर्ने सुवर्ण मौकाका रुपमा लिनुपर्ने बताए । एकताको पक्षमा एकढिक्का हुनुको बिकल्प नरहेको उनको भनाई छ । माओवादीभित्र देखिएको असन्तुष्टिबारे प्रष्ट पार्दै उनले भने– ‘हो, केही कमरेडहरुले फरक ढङ्गले पनि बहस थाल्नुभएको छ । तर, उहाँहरुको बहस समय सापेक्ष देखिँदैन । किनभने एकता किन ? कोसँग ? र, कसरी ? भन्ने प्रश्नको उत्तर पार्टीको मुख्य नेतृत्वले दिँदै आएको छ । एकता स्थायित्व र समृद्धिका लागी हो । वामपन्थीसँग हो । समाजवादमा पुग्ने लक्ष्यसहित हो भन्नेमा नेतृत्वले प्रष्ट पारिसकेपछि बखेडा झिक्नु वैयक्तिक असन्तुष्टि बाहेक अरु बढि केही हो जस्तो लाग्दैन ।’ 

नेता विश्वभक्त दुलालप्रति इंकित गर्दै बरालले भने– ‘झन्, आहुती कमरेडले त त्यसो भन्नै मिल्दैन । संयुक्त चुनाबी घोषणापत्र लेख्ने उहाँ नै हो । उहाँ आफैँले लेखेको  घोषणापत्र लागु गर्न एकताबिना सम्भव छ त ? यो प्रश्न हामीले उहाँलाई सोध्नुपर्छ ।’ 

चुनाब जितेपछि कस्तो अनुभुति भैरहेको छ ? भन्ने प्रश्नमा भावुक हुँदै बराल बोले– ‘विजयी हुँदा खुशी र पराजित हुँदा दुःखी हुनु मानविय स्वभाव नै हो । मेरो हकमा पनि यही भयो । तर, धेरै उन्मात छैन । मलाई स्वभाविकजस्तो लागिरहेको छ । चुनाबपूर्व र पछिमा खास फरक अनुभुति छैन । जिम्मेवारीको भारी थपिएजस्तो मात्रै भैरहेको छ ।’

बरालले अमूल्य मत दिएर विजयी गराउने मतदातालाई औपचारिकताका निम्ति सामान्य धन्यवाद दिएर मात्रै नपुग्ने बताए । उनले भने–‘सामुहिक रुपमा त हामीले धन्यवाद ज्ञापन गरिसक्यौँ । तर, एउटा जनप्रतिनिधीको हैसियतले उम्मेदवार हुँदा गरेका प्रतिवद्धता पुरा गराउनेमा म निरन्तर क्रियाशिल नै छु । म विशेष रुपमा के भन्न चाहन्छु भने–यो मुलुक शिवजीको धुनषजस्तो होइन । कुनै बहादुर एक्लैले केही गर्न सक्दैन । विकास र समृद्धिका लागी सबैले आ–आफ्नो ठाउँबाट सकरात्मक पहल गर्नुपर्छ ।’

नेता बरालले आफूहरुले मत माग्ने क्रममा वाम शक्तिहरु मिल्छौँ भनेको र मिल्नुपर्छ भन्नेमा अहिलेपनि दृढ रहेको बताए । तर, ठूलो इतिहास बोकेका दुई ठूला पार्टी एमाले र माओवादी एकताको कुरा सामान्य र सहज कुरा पनि नभएको उनको भनाई छ । बरालले भने– ‘नीति र नेतृत्वबारे बहस र छलफल गरेपछि मात्रै टुङ्गोमा पुगिन्छ । एकतालाई सजिलो हुनेगरी बहस गर्नु नाजायज पनि होइन । तर, एकता भाँड्न खोज्ने गलत तत्वलाई फाइदा पुग्नेगरी भने बहस गर्नुहुँदैन । एकताका निम्ति दुबैपार्टीको केन्द्रीय नेतृत्व गृहकार्यमै हुनुहुन्छ । एकता हुँदैन कि भनेर कसैले आशंका नगरे हुन्छ । एकता त हुन्छ, हुन्छ । हाम्रो अध्यक्ष प्रचण्डले भनिसक्नुभएको छ–हामीले पुल भत्काएर अघि बढेका छौँ । पछाडि फर्कनै मिल्दैन । माओवादी पार्टी एकताको निम्ति आतुर नै छ ।’ 

चुनाब जितेपछि सांसदहरु मन्त्री बन्ने दौडमा छन्, तपाईँको दौड कत्तिको चल्दैछ ? भन्ने प्रश्नमा उनले भने–‘सम्भावनाले आकांक्षा जन्माउँछ । त्यसभित्र मान्छेको स्वभावले पनि भूमिका खेल्ने गर्छ । प्रदेश सभाको सदस्यका रुपमा जनताले निर्वाचित गरेको प्रतिनिधिले मन्त्री बन्ने आकांक्षा राख्नु अस्वभाविक कुरा पनि होइन । तर, म मन्त्री नै बन्न नेतृत्वको दैलोमा तेल लिएर पुगेको छैन । जताततैबाट नाप्दा र न्यायिक निर्णय हुँदा हाम्रो पार्टीबाट म प्रदेश मन्त्री नबन्ने सम्भावना देख्दिन । मन्त्री बन्ने पर्याप्त आधार मसँग छन् । मैले २०५७ सालदेखि निरन्तर रुपमा माओवादी पार्टी, कास्कीको नेतृत्व गर्दै आइरहेको छु । पर्वत जिल्लाको पनि नेतृत्व गरेको हुँ । अन्य जिल्लाहरुसँग पनि मेरो भावनात्मक निकटता छ । प्रदेशभित्र माओवादी पार्टीबाट निर्वाचन जितेका सबैजसो साथीहरु जनयुद्धदेखि नै सहकार्य गर्दै आएका छन् । हामी एकलाई अर्कोको पृष्ठभूमि सबैजसो थाहा छ । तसर्थ, मन्त्री भएर समग्र प्रदेशको हितमा काम गर्न मलाई असाध्यै अनुकुल देख्छु । यद्यपी, पार्टीले निर्णय नगर्दासम्म म यसो हुन्छु, उसो हुन्छु भन्दा ठूलो भाग खोजेको अर्थ लाग्न सक्छ । मन्त्री हुने कुरा मेरो व्यक्तिगत इच्छा र आवश्यकतासँग मात्रै पनि सम्बन्धित छैन ।’ 

 

 

 

 

 

Write a Comment

Events
Random Picks