किन पढ्दैनन् हाम्रा नेता ?
5-August-2015

नेपालमा पञ्चायतकालदेखि नै राजनीतिक पद्धति एकै ढंगले अगाडि बढिरहेको छ । निर्वाचनका लागि अध्ययन, अनुसन्धान तथा नयाँ भिजन चाहिन्छ भन्ने सोच नै हाम्रा नेताहरूमा छैन । कुलोकुलेसा, बाटोघाटो, खानेपानीजस्ता विकासका विषयलाई अजेन्डा बनाएरै नेताहरू निर्वाचनमा होमिन्छन् । जनताले पनि अध्ययनको विषयमा नेताहरूलाई सहयोग गरेका छैनन् । उनीहरू पनि नेताहरूसँग विकासकै कुरा सोध्छन्, खानेपानी र बाटोकै कुरा निकाल्छन् । आँगनमा आइरहने नेता जनताको विश्वासमा परे । भिजनरी र अध्ययनशील नेताको त काउन्ट नै गरेनन् † हामीमा नेतालाई साना–साना विषयमा पनि खोज्ने तर उसको क्षमताको मूल्यांकन नगर्ने परिपाटी छ । यो चेतनाले पनि राजनीतिकर्मीमा पढ्नुपर्छ भन्ने पाटो ओझेलमा पर्‍यो । राजनीतिक परिवर्तनका लागि नेपालका नेताहरूले निकै ठूलो मिहिनेत गरे । त्यसबेला अध्ययन पनि गर्थे । तर, खुला परिवेशमा आइसकेपछि जनतासँग नजिक हुने नाममा अध्ययन, अनुसन्धानको पक्षलाई त्याग्दै गए । भूमिगतकालमा भन्दा पनि खुला राजनीतिमा नेताहरूको पढाइ कम हुन थाल्यो । संसदीय पद्धतिमा चलिरहेको हाम्रो देशको शासकीय स्वरूपले पढ्ने मान्छेलाई पनि नपढ्ने बनाउँछ । राजनीति गर्ने यो तरिकाले पहिलो त पढ्ने समय कम हुन्छ । दोस्रो, पढ्दै नपढे पनि राजनीतिमा सफल भइन्छ भन्ने सिकाउँछ । त्यसैले पनि होला, आफ्नो निर्वाचन क्षेत्रका प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गरेपछि भइहाल्छ भन्ने एकोहोरो सोच स्थापित भएको छ । सानो घेराभित्र लोकप्रिय भएपछि राजनीतिक उद्देश्य पूरा हुन्छ भन्ने मान्यता बलियो भएपछि अध्ययन–अनुसन्धानको पाटो स्वत: छायामा पर्छ । साँघुरो घेराभित्रै रमाउँदा उद्देश्य पूरा हुने ठानेपछि अन्तर्राष्ट्रिय स्तरका नेताको उचाइमा कसरी पुग्ने भन्ने त लक्ष्य नै हुने भएन । अन्तर्राष्ट्रिय स्तरका ठूला नेताहरू कसरी नेता बने भन्ने कुराको पनि मतलब हुने भएन । देश–विदेशका नीति, कानुन र महत्त्वपूर्ण घटनाक्रमबारे ज्ञान हुनुपर्छ भन्ने लाग्दै लागेन । कसैले भनेर सुनेका आधारमा हल्का टिप्पणी गर्ने, गल्ती के हो, सही के हो मतलब नै नगर्ने बानीको विकास भयो । जनताको वरपर घुम्ने बहानाले पनि नेपालका अधिकांश राजनीतिकर्मीको पढ्ने बानीमा कमी आउँदै गयो । परिणामत: यसले हाम्रा नेताको बौद्धिक अभ्यास र क्षमतामा ह्रास हुँदै आयो । ००० नपढ्नेहरूको लाइन नेताहरूको मात्रैचाहिँ छैन । बुद्धिजीवी, कर्मचारीलगायत अन्य क्षेत्रमा पनि नपढ्नेको सूची लामै छ । हाम्रा सबै नेता नपढ्ने छैनन्, पढ्ने पनि छन् । अध्ययन, अनुसन्धानलाई निरन्तर अगाडि बढाउने, देश–विदेशका नीति–नियम र घटनाक्रमलाई नजिकबाट बुझ्नमा अग्रणी नेता पनि छन् । तर निकै कम । जनताका बीचमा दु:ख गरेर लोकप्रिय बने भइहाल्छ भन्ने सोच नेपालका राजनीतिकर्मीमा हाबी छ । श्रमलाई सम्मान गर्ने, तर अध्ययनलाई मतलब नगर्ने सोचाइ छ । यसले जनतालाई खुसी पार्न त सकिएला, तर केही नयाँ दिन सकिँदैन । विगतको निरन्तरता मात्रै हुन्छ । यो तरिकाले शक्तिमा पुग्न मात्रै बाटो बनाउँछ, शक्तिमा पुगेपछि पदको सदुपयोग हुँदैन । काम गर्न सकिँदैन । अध्ययन गर्न छोड्यो भने स्नातक गरेको व्यक्ति पनि अन्तत: साक्षर मात्रै हुन्छ । वास्तवमा हाम्रा विश्वविद्यालयमै पढ्ने संस्कृति छैन । माथिका पढ्दैनन् भने तलकाले किन पढ्ने भन्ने मान्यता स्थापित भएको छ । जसरी हुन्छ, बहुमत प्राप्त गर्ने, आश्वासन दिने, आफ्ना मान्छे बनाउने भन्ने पाटोलाई मात्रै राजनीतिकर्मीले महत्त्व दिएको देखिन्छ । दिनहुँ जनताकहाँ गएर अनुहार देखाएर मात्रै हुुन्छ ? परिणाम दिनुपर्दैन ? जनताकहाँ गएर भात खाएर मात्रै हुन्छ ? भिजनसहितको योगदान दिनुपर्दैन ? यसमा जनताको पनि भूमिका जोडिन्छ । कुलपूजा, व्रतबन्ध, बिहेदेखि कुनै पनि सामान्य कार्यक्रम नछोड्ने नेतालाई नै मन पराउने संस्कार जनतामा छ । जतिखेर पनि हाजिर हुनेलाई होइन, योजनामा काम गर्न सक्ने क्षमतावान् नेतालाई जनताले मूल्यांकन गर्न सक्नुपर्‍यो । जनताले यस्तो निर्णय गर्न सक्ने हो भने केही नयाँ भिजन दिनुपर्छ, त्यसका लागि अध्ययन चाहिन्छ भन्ने दबाब नेतामा पर्न जान्छ ।

 हाम्रा नेताले किताब किन्न नसकेर वा समय नभएर मात्रै नपढेका भने होइनन् । कस्तो काममा समय दिने भन्ने छुट्याउने हो भने समय निकाल्न सकिन्छ । पैसा र स्रोत–साधनको अभाव भयो भन्ने त हुँदै होइन । हामीसँग पुस्तकालय छन् । प्रविधि सस्तो भइसक्यो । पढ्ने चाहना भए विकल्प कति छन्, कति ? ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने त आहान नै छ । इच्छा नै नभएपछि त के लाग्छ र † वास्तवमा हामी पढ्नुपर्छ भन्ने दिशामा जाँदै गएनौँ । चुनाव जित्नका लागि पढेर काम रहेनछ, अरू नै काम गर्नुपर्ने रहेछ भन्ने भयो । जो अध्ययन र अनुसन्धानमा संलग्न हुँदैन, सिर्जनात्मक काममा लाग्दैन भने उसले चुनाव जित्न सक्दैन भन्ने नजिर दिन सक्ने हो भने नेतामा पढ्ने बानी बस्छ । गलत रोपिन्छ भने सही त कसरी उम्रिन्छ र ? देशमा विभिन्न ऐन, विधेयक र नीतिहरू आइरहेका हुन्छन् । नपढेपछि के थाहा हुन्छ ? हामी राजनीति गर्नेहरू सरकारी कर्मचारी र केही विज्ञमा भर पर्छौँ । व्यावहारिक र सैद्धान्तिक ज्ञान त पढाइबाट प्राप्त हुने हो नि † अरूको भरमा पर्दा त बिग्रिन्छ । नेपाली राजनीतिकर्मीको हालत अहिले यही हो । डरलाग्दो पाटो के भने हामी जानेकाजस्तो पनि गर्नुपर्ने, तर नजान्ने अवस्थामा छौँ । तर, व्यावहारिक अभ्यासमा विज्ञ भन्नेहरूमा भर पर्नुपर्छ । यसले नराम्रोसँग बिगारेको छ, बिगार्छ । धेरै राजनीतिकर्मीमा पत्रपत्रिका, अनलाइनका समाचार तथा सामाजिक सञ्जालका टुक्रे सूचना हेरेर धारणा बनाउने चलन छ । टालटुले सूचनामा बढी केन्द्रित हुने तर किताब कम पढ्ने प्रवृत्ति बढ्दो छ । पिएचडी नै गरेको किन नहोस्, स्वअध्ययनमा निरन्तरता छैन भने उसको प्रमाणपत्रको कामै छैन । बरु, एसएलसी पास नै होस्, यदि निरन्तर स्वअध्ययन छ भने पिएचडीधारीभन्दा उत्तम हुन सक्छ । मेरो मतलब, अध्ययन, अनुसन्धानको निरन्तरताले कुनै न कुनै योगदान दिन सक्छ । नेताले जनताका सामान्य र धेरै कार्यक्रममा गइराख्नुपर्दैन । बरु, त्यो समयलाई पढ्नमा सदुपयोग गर्दा निकै राम्रो हुन्छ ।

प्रस्तुति : प्रवीण देवकोटा

Events
Random Picks