पाँचौँ अनशनको तयारीमा थिए डा. गोविन्द केसी
5-August-2015

त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले अनशन बस्ने चेतावनी दिएपछि सरकारले माथेमा कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । डा. केसीले प्रतिवेदन सार्वजनिक नगरे २२ साउनदेखि पाँचौँपटक आमरण अनशन बस्ने घोषणा गरेका थिए । डा. केसीले ८ साउनमा पत्रकार सम्मेलन गरी माथेमा कार्यदलको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेसहितका पाँचबुँदे माग अघि सारेका थिए । उनले २१ साउनसम्म माग पूरा नभए अनशनमा बस्ने चेतावनी दिएका थिए । उनले विद्यार्थी संख्या र शुल्कजस्ता तत्काल कार्यान्वयन गर्न सकिने बुँदा आउँदो शैक्षिक सत्रदेखि लागू गर्नुपर्ने, काठमाडौं विश्वविद्यालयले अनियमिततापूर्वक दिएको सम्बन्धन स्थगन गरी विद्यार्थीको उचित व्यवस्थापन गरिनुपर्नेलगायतका माग अघि सारेका छन् । सहमतिविपरीत नेपाल मेडिकल काउन्सिल, नेपाल हेल्थ रिसर्च काउन्सिल र संस्कृत विश्वविद्यालयअन्तर्गतको आयुर्वेद अध्ययन संस्थानमा राजनीतिक भागवण्डाबाट पदाधिकारी नियुक्त गरिएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने डा. केसीको माग छ । उनले ती ठाउमा वरिष्ठता र कार्य दक्षताका आधारमा नया पदाधिकारी नियुक्त गर्नसमेत माग गरेका छन । त्यस्तै, झण्डै एक वर्षदेखि पठनपाठन पूर्ण अवरुद्ध भएको जानकी मेडिकल कलेजका विद्यार्थीलाई अविलम्ब व्यवस्थापन गरी सो कलेज सञ्चालकलाई कारवाही गर्न पनि डा. केसीले माग गरेका छन । उनका माग अनुसार माथेमा कार्यदलको प्रतिवेदन मात्र सार्वजनिक भएको छ । उनले सो प्रतिवेदन सार्वजनिक गरेर लागू गर्नसमेत माग गरेका थिए ।

Write a Comment

Events
Random Picks