भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै, को–कोसँग हुन्छ भेट?
31-January-2018


जकसन डटकम
काठमाडौं, १८ माघ 

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको टोली बिहीबार नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछ। नेपालको दुईदिने भ्रमणमा अपराह्न विशेष विमानबाट यहाँ आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै उनले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्नुहुने परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ। 

विदेशमन्त्री स्वराजले राष्ट्रपति भण्डारीसँग शुक्रबार दिउसो १२ बजे राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गर्ने तय भएको स्रोतले बताएको छ। स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतालाई पनि भेट्ने परराष्ट्र स्रोतले जनाएको छ। विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार र २ जना सञ्चारकर्मी आउने भएका छन्।

Write a Comment