सातै प्रदेशका मुख्यमन्त्री : पूर्वचौकीदार देखि पूर्वमन्त्रीसम्म
11-February-2018

 

२८ माघ, काठमाडौं ।

संघीय गणतन्त्र नेपालका सातै प्रदेशका प्रथम मुख्यमन्त्रीहरुको प्रष्ट तस्वीर आइसकेको छ । प्रदेश-४ मा एमालेले पृथ्वी सुब्बा गुरुङलाई सर्वसम्मत दलको नेता चयन गरेपछि मुख्यमन्त्री बन्ने/बनाउने दौड टुंगिएको छ ।

अब प्रदेश प्रमुखहरुबाट सातै मुख्यमन्त्रीको नियुक्ति हुन मात्र बाँकी छ ।


नेपालले संघीयताको अभ्यास पहिलोपटक गरेकाले मुख्यमन्त्री पदको महत्वबारे अन्योल कायम छ । दक्षिणी छिमेकी भारतकै उदाहरण हेरौं । हरेक प्रदेशका विधानसभा निर्वाचनलगत्तै नयाँ मुख्यमन्त्रीबारे मुलुकभर चर्चा हुने गर्छ, त्यहाँ ।

भारतमा मुख्यमन्त्रीलाई कार्यकारी अधिकारका हिसाबले प्रधानमन्त्रीपछिको महत्वपूर्ण पदका रुपमा लिने गरिन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिल्यै केन्द्रीय सरकारको मन्त्री बनेनन् । उनी तीन पटक गुजरातको मुख्यमन्त्री बनेर सीधै प्रधामन्त्रीको कुर्सीमा पुगे ।

नेपालमा पनि यो सम्भावना नरहेको होइन । राम्रो काम गर्ने मुख्यमन्त्री भविष्यमा प्रधानमन्त्री बन्ने सम्भावनालाई नकार्न मिल्दैन । त्यसैले, सबैको नजर सातै प्रदेशका प्रथम मुख्यमन्त्रीहरुको कामतर्फ पर्ने कुरामा द्विविधा छैन ।

सातमध्ये चार मुख्यमन्त्रीहरुसँग केन्द्रीय सरकारमा मन्त्री बनेको अनुभव छ । प्रदेश-७ का मुख्यमन्त्री त्रिलोचन भट्ट मात्र नयाँ अनुहार हुन्, जससँग यसअघि मन्त्री बनेको अनुभव छैन ।

प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग सांसद र मन्त्री नबने पनि जनप्रतिनिधिका रुपमा नगरपालिकाको बागडोर सम्हालेको अनुभव छ ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुबारे संंक्षिप्त चर्चा गरौं-

प्रदेश १ : शेरधन राई

पूर्वसञ्चारमन्त्री शेरधन राई एमालेका केन्द्रीय सचिव तथा प्रदेश कमिटी संयोजक भीम आचार्यलाई पराजित गर्दै प्रदेशसभामा संसदीय दलको नेता निर्वाचित भएका हुन् ।

उनी एमालेमा छोटो समयमा ठूलो राजनीतिक फड्को मार्ने नेता पनि हुन् । खासगरी, जातीय मुद्दा उठाएर अशोक राईहरुले एमाले छाडेपछि उनको राजनीतिक करिअरले छलाङ मारेको हो, जुन अद्यापि कायम छ ।

भोजपुरको पसलभञ्ज्याङमा २०२७ सालमा जन्मिएका शेरधनले २०४४ मा अनेरास्ववियूबाट राजनीतिक यात्रा थालेका थिए । अखिलको जिल्ला अध्यक्ष र पूर्वाञ्चल संयोजक हुँदै पार्टी राजनीतिमा उनको पदार्पण भएको हो । र, २०५६ सालको संसदीय निर्वाचनमा कान्छो सांसदका रुपमा निर्वाचित भएका थिए ।

२०६४ सालमा चुनाव हारेका उनी दोस्रो संविधानसभामा विजयी भए । केपी ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता बनेका उनी हाल एमाले वैकल्पिक पोलिटब्युरो सदस्य पनि हुन् ।

प्रदेश २ : लालबाबु राउत

प्रदेश २ मा मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री बन्दैछन् । उनी संघीय फोरमको प्रदेशसभा संसदीय दलका नेता हुन् । फोरम र राजपाबीच मिलेर सरकार बनाउने सहमति भएको छ, जसअनुसार फोरमले मुख्यमन्त्री, उपसभामुख र तीन मन्त्रालय पाएको छ भने राजपाको भागमा सभामुख र तीन मन्त्रालय परेको छ ।

१५ असार ०२३ मा पर्साको जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुरमा जन्मिएका राउत किसान परिवारबाट राजनीतिमा उदाएका नेता हुन् । दोस्रो संविधानसभामा समानुपातिक सभासद् बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेका थिए । र, पर्सा १ ‘ख’ मा विजयी पनि बने ।

अहिले उनी वीरगञ्ज महानगर-१३ तेजारथ टोलमा बस्छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राउतले कानुनमा स्नातक पनि गरेका छन् । पढाइपछि अस्थायी प्राध्यापकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसमा १० वर्ष अध्यापन गरे ।

उनलाई चिन्ने अधिकांशले ‘लालबाबु सर’ भनेर बोलाउनुको कारण पनि अध्यापनसँग उनको दशक लामो नाता हो ।

तत्कालीन वीरगञ्ज नगरपालिकामा १५ वर्ष काम गरेका उनले ०७० सालको संविधानसभा निर्वाचनअघि जागिर छाडे र राजनीतिमा आए । यद्यपि, गैरसरकारी संस्थाका रुपमा ०५७ सालमा फोरम स्थापना भएदेखि अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रुपमा सघाए । र, दुवै मधेश आन्दोलनमा सक्रिय सहभागी बने ।

प्रदेश ३ : डोरमणि पौडेल

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई चुनाव हराएर मुख्यमन्त्रीको बागडोर सम्हाल्न लागेका डोरमणि पौडेल एमालेभित्र होचो राजनीतिक कदका अग्ला नेता मानिन्छन् । जसरी उनको उचाइ र उमेरलाई अग्लो मान्न सकिन्छ, त्यसरी नै दिएको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पनि कहिल्यै असफल नहुने अग्ला नेता देखिन्छन्, उनी ।

पार्टीमा उनी केन्द्रीय कमिटी सदस्यसम्म पनि भएनन् तर जनप्रतिनिधिका रुपमा सफल नेताको परिचय स्थापित गरेका छन् । उनको क्षमतामा शंका नभएरै एमालेको संस्थापन पक्षले मुख्यमन्त्रीका रुपमा अगाडि सारेको बुझ्न सकिन्छ ।

पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाको मेयर बने । उनकै पालामा हेटौंडा मुलुककै नमूना नगरपालिका बन्यो । नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्ष भएर १५ वर्ष काम गरेका पौडेल स्थानीय शासन प्रणालीको विज्ञका रुपमा पनि परिचित छन् ।

प्रदेशसभाका ज्येष्ठ सदस्यसमेत रहेका उनले शुरुमा सोही हैसियतमा सभा पनि सञ्चालन गरे ।

१५ चैत २००२ मा काठमाडौंको फर्पिङमा जन्मिएका पौडेल बसाइँसराईंसँगै हेटौंडा नवलपुरका स्थायी बासिन्दा बनेका हुन् । ०३० सालदेखि नै शिक्षक संगठनबाट राजनीतिमा लागेका थिए । पञ्चायतकालमा जेलनेल र निर्वासनमा पनि परे । एमालेभित्र सधैं केपी ओलीनिकट रहेर काम गरेका नेता हुन्, पौडेल ।

प्रदेश ४ : पृथ्वी सुब्बा गुरुङ


प्रदेश-४ को मुख्यमन्त्री बन्न लागेका एमाले सचिव पृथ्वी सुब्बा गुरुङ लमजुङका हुन् । अमृत साइन्स क्याम्पसबाट बीएस्सी गरेका उनी विद्यार्थी जीवनदेखि नै एमाले निकट थिए । २०२७ सालमा स्ववियू सचिव जितेका उनी जिल्ला सचिव हुँदै पार्टीको केन्द्रीय कमिटीमा आए ।

र, २०५४ सालदेखि एमाले केन्द्रीय कमिटीमा छन् । उनी हाल पार्टीको केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पनि हुन् । पार्टीमा सधैं केपी ओलीनिकट रहेर काम गरे ।

२०६४ मा संविधानसभा सदस्यको चुनाव जितेका उनी २०७० मा पराजित भए । यसपटक प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर, वाम तालमेलका क्रममा लमजुङमा देव गुरुङ उम्मेदवार हुने भएपछि उनी प्रदेशसभामा झरे ।

शुरुमा प्रदेश-४ को मुख्यमन्त्रीका रुपमा अर्का नेता किरण गुरुङलाई हेरिएको थियो । तर, प्रदेशसभामा झरेपछि पृथ्वी सुब्बाले पनि दाबी गरे ।

दुवै नेता एमाले संस्थापन गुटकै हुन् । सहमति नभए चुनाव हुने अवस्था आएको बताउँदै किरण गुरुङ पछाडि हटेपछि पृथ्वी सुब्बाका लागि मुख्यमन्त्रीको मार्गप्रशस्त भयो ।

प्रदेश ५ : शंकर पोखरेल

प्रदेश-५ को मुख्यमन्त्री बन्ने तरखरमा रहेका शंकर पोखरेल एमाले स्थायी कमिटी सदस्य हुन् । अनेरास्ववियूका पूर्वअध्यक्ष पोखरेल पार्टीका पूर्वसचिव पनि हुन् । उनी नवौं महाधिवेशनमा उपमहासचिव उठेर पराजित भएका थिए ।

एमाले अध्यक्ष ओलीनिकट पोखरेललाई अध्ययनशील नेताका रुपमा लिइन्छ । प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजना थिए तर वाम गठबन्धनमा कृष्णबहादुर महराले दाङ-२ को टिकट लिएपछि पोखरेल प्रदेशमा झरेका हुन् । उनलाई त्यसबेलै मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

पोखरेल एमालेभित्र जनताको बहुदलीय जनवादका व्याख्यातासमेत मानिन्छन् । ०५१ सालमा पहिलो पटक दाङबाट सांसद निर्वाचित भएका पोखरेल ०६४ मा समानुपातिक सभासद् हुँदै सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।

प्रदेश ६ : महेन्द्रबहादुर शाही

पूर्वसभासद् महेन्द्रबहादुर शाहीलाई माओवादीले प्रदेश-६ को संसदीय दलको नेता चयन गरिसकेको छ ।

उनलाई चुनावताका नै मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । वाम भागबण्डामा प्रदेश-६ को मुख्यमन्त्री माओवादीको भागमा परेपछि शाहीलाई थप सहज भयो ।

१५ माघ ०३३ मा कालीकोटको विकट पचालझरना गाउँपालिका (साविक नानिकोट गाविस-८) को मध्यमवर्गीय परिवारमा जन्मिएका शाही माओवादी पोलिटब्युरो सदस्य तथा भेरी, कणर्ाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुन् ।

सशस्त्र विद्रोहका क्रममा डिभिजन कमान्डर रहेका शाही अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गराउँदा प्रस्तावक बनेर एकाएक चर्चामा आएका थिए ।

२०५२ सालमै भूमिगत भएका शाहीले एसएलसीसम्म अध्ययन गरेका छन् । उनी कालीकोट ‘ख’बाट प्रदेशसभामा विजयी भएका हुन् ।

प्रदेश ७ : त्रिलोचन भट्ट

प्रदेश-७ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका त्रिलोचन भट्ट डोटी प्रदेशसभा ‘क’ बाट विजयी सांसद हुन् ।

जिल्लाको केआईसिंह गाउँपालिका-६ फलेडीका भट्ट कक्षा ५ मा अध्ययन गर्दैगर्दा १४ वर्षको उमेरमा भारतमा मजदुरी गर्न पुगेका थिए । उनले त्यहाँ लामो समय चौकीदारी गरे । भारतमै छँदा माओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएका थिए ।

उनको राजनीतिक यात्रा पनि सोही समाजबाट शुरु भएको हो । र, ०६१ सालमा स्वदेश र्फकेर सक्रिय राजनीतिमा लागेका हुन् ।

हाल उनी माओवादी पोलिटब्युरो सदस्य छन् । प्रदेशसभामा टिकट पाएपछि चौकीदार बताउँदै विपक्षीले खिसिट्युरी पनि नगरेका होइनन् । तर, सांसद मात्र बनेनन्, प्रदेशको मुख्यमन्त्री बन्ने सौभाग्यसमेत पाए ।

अनलाईखबर  बाट साभार 

Write a Comment