चम्किदैँ छन् मेस्सी : फेरि बने युरोपका उत्कृष्ट फुटबलर
28-August-2015

भाद्र ११ । स्पेनिस क्लब बार्सिलोनाबाट व्यसायिक फुटबल खेल्दै आएका अर्जेन्टानइन फुटबलर  लियोनल मेस्सी युरोपका उत्कृष्ट फुटबलर बन्न सफल भएका छन् ।

 फ्रान्सको मोनाकोमा भएको एक समारोहमा उनलार्इ युरोपेली वर्ष खेलाडीको अवार्ड प्रदान गरिएको हो । क्लब फुटबलमा एकपछि अर्को सफलता चुमिरहेका मेस्सीले युरोपेली वर्ष खेलाडीको अवार्ड जित्ने क्रममा रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाकै लुइस स्वारेजलार्इ पछि पारे ।

यसअघि सन् २०११ मा पनि यो अवार्ड जितिसकेका उनले गत सिजन बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा र स्पेनिस किङ्स कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

चार पटक फिफा वर्ष खेलाडी भइसकेका मेस्सीले गत सिजनमा बार्सिलोनाका लागि ५८ गोल गरेका थिए । उनका प्रतिस्पर्धी रोनाल्डोले उनी भन्दा धेरै ६१ गोल गरे पनि रियल मड्रिडलाई एउटै पनि उपाधि जिताउन सकेका थिएनन् ।

गत सिजनमा मेस्सीले ब्राजिलियन नेइमार र उरूग्वेका स्वारेजसँग मिलेर बार्सिलोनालार्इ महत्वपूर्ण उपाधि दिलाउन सफल भएका थिए । यी तीनै खेलाडीको आक्रमक तालमेलका कारण बार्सिलोना गत सिजन युरोपकै सफल क्लब बन्यो ।