ज्ञानेन्द्रको काठमाडौंलाई हराउँदै पारसको चितवन फाइनलमा
4-November-2018


जक्सन डटकम
पोखरा, कार्तिक १८ 

काठमाडौं रोयल्सलाई ६ विकेटले हराउँदै कप्तान पारस खड्काको टिम चितवन राइनोज फाइनलमा प्रवेश गरेको छ।

पोखरा क्रिकेट मैदानमा आइतबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले ३ विकेटको क्षतिमा १० बल बाँकी छँदै पुरा गर्यो। चितवनको जितमा स्मिथ पटेलले सर्वाधिक ३८ रन जोडे। हरिशंकर साहले २६ रन बनाउँदा आरिफ शेख २० रनमा अभिजित रहे।

कमजोर सुरूवात गरेको चितवनले ओपनर अनिल शाहलाई १ रनमा गुमाए लगत्तै कप्तान पारस खड्का २ रनमा आउट भए। सन्नी पटेल ६ रनमा अभिजित रहे। काठमाडौंका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिँदा पवन शरार्फले १ विकेट लिए।

यसअघि स्पिनर सन्नी पटेलको कसिलो बलिङ सामू काठमाडौं १९/३ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएको थियो। पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको काठमाडौंले पहिलो ओभरमा १५ रन जोडे पनि दोस्रो ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदै धरमरायो।

दोस्रो ओभरमा सन्नीले अमित श्रेष्ठ, गौरव तोमर र पवन सर्राफलाई आउट बनाए। लगत्तै नरेश बुढाएर पारस खड्काको बलमा एलबिडब्लुको शिकार भए पछि काठमाडौं जम्न सकेन। काठमाडौंका लागि ओपनर जयकिशन कोल्सावाला र कप्तान ज्ञानेन्द्र मल्लले पाँचौ विकेटको लागि ३८ रनको साझेदारी गर्नुबाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

कप्तान ज्ञानेन्द्र मल्ल ३० रन तथा जयकिशन कोल्सावा २५ रनमा आउट भएका थिए। काठमाडौंको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा सन्नी पटेलले ४ ओभरमा ९ रन खर्चदै ३ विकेट लिए । भुवन कार्कीले १० रन खर्चदै २ विकेट लिए । स्मित पटेलले २ तथा करण केसी र पारस खड्काले १-१ विकेट हात पारे।

अब चितवनले उपाधिका लागि लिगको शीर्षस्थानमा रहँदै फाइनल पुगेको घरेलु टोली पोखरा पल्टनसँग मंगलबार खेल्नेछ। समूह चरणको समाप्तिपछि अत्यन्तै प्रतिस्पर्धात्मक रहेको प्रतियोगिताको अंक तालिकामा शीर्ष ४ टोलीको समान ६ अंक थियो। नेट रनरेटको आधारमा पोखरा पल्टनले शीर्ष स्थान हासिल गर्दै सिधै फाइनलमा स्थान पक्का गर्दा। दोस्रो स्थानमा रनरेटकै आधारमा चितवन राइनोज रह्यो भने तेस्रोमा काठमाडौं रोयल्सले स्थान बनाएको थियो।

धनगढी ब्लुज भने समान ६ अंक भए पनि नेट रनरेटमा पछाडि पर्दै समूह चरणबाटै बाहिरियो। प्रतियोगितामा सुरुवातको दुई खेल जित्दै शानदार सुरुवात गरेको बुटवल ब्लास्टर्सले भने प्रतियोगिताको अन्तिमतिर लगातार तीन खेल हार्यो। प्रतियोगिता अवधिभर एक जित मात्र दर्ता गर्न सकेको विराटनगर सुरुवातदेखि नै पुछारमा रह्यो।

 

Write a Comment