बंगलादेशका क्रिकेट कप्तान मशरफे मुर्ताजा बने सांसद
31-December-2019


जक्सन डटकम
काठमाडौँ, पुस १५

बंगलादेशको एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मुर्ताजा सांसद चुनिएका छन्।

आइतबार भएको आम निर्वाचनमा मुर्ताजा प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिग दलबाट सांसदमा विजयी भएका हुन्।

तीव्र गतिका बलर तथा अलराउन्डर मुर्ताजा नारायल -२ निर्वाचन क्षेत्रमा २ लाख ७१ हजार मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिष्पर्धी उम्मेदवारले ७ हजार ८ सय ८३ मतमात्र पाए।

डिसेम्बर ९ मा वेस्ट इन्डिजविरूद्ध सुरू भएको  तीन म्याचको एक दिवसीय सिरिजअघि मुर्ताजाले चुनाव लड्ने घोषणा गरेका थिए।

उनले यसअघि नोभेम्बरमा आफूमा सधैँ राजनीति गर्ने इच्छा रहेको बताएका थिए।

३५ वर्षीय मुर्ताजा अहिले एक दिवसीय खेलमात्र खेलिरहेका छन्। चोटका कारणले उनले सन् २००९ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। उनले ३६ टेस्टमा ७८ विकेट लिएका छन्।

उनले २०१७मा टि(ट्वान्टी क्रिकेटबाट सन्यास लिएका थिए।

सांसद बन्ने मुर्ताजा बंगालदेशका दोस्रो क्रिकेट कप्तान हुन्। यसअघि नइमुर रहमान दुरजाँय सांसद बनेका थिए। बहालवाला कप्तान सांसद बन्ने मुर्ताजा पहिलो हुन्। सांसद बनेपनि उनले क्रिकेट खेल्ने बताइएको छ। २०१९ को विश्वकपपछि मात्र मुर्ताजाले सन्यास लिने बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्। 

यसैबीचआइतबार भएको आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिगले भारी बहुमत ल्याएको छ।  लिगले नेतृत्व गरेको गठबन्धन संसदका २९८ मध्ये २८७ सिटमा विजयी भएको बंगलादेशको निर्वाचन आयोगले सोमबार जनाएको छ।

प्रधानमन्त्री हसिनाको क्षेत्र गोपालगञ्जमा उनले २ लाख २९ हजार ५ सय ३९ मत पाएकी छन् भने उनका प्रतिष्पर्धी उम्मेदवारले जम्मा १२३ भोट ल्याएका छन्।

जितसँगै हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन्। सन् १९९६मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना सन् २००९पछि लगातार बंगलादेशको प्रधानमन्त्री छन्। उनी बंगलादेशमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्ति बनेकी छन्।

आइतबारको प्रमुख प्रतिपक्षी बंगलादेश नेशनल पार्टीले जम्मा ६ सिट पाएको छ। उक्त दलले सन् २०१४ को चुनाव बहिष्कार गरेको थियो।

विपक्षी गठबन्धनले मतदानमा धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेको छ। विपक्षी नेता कमल हसेनले आफूहरूले निर्वाचन आयोग समक्ष निष्पक्ष प्रशासनबाट नयाँ चुनाव माग गरेको बताए।

चुनावी हिंसामा कम्तिमा १७ जनाको ज्यान गएको थियो।

‘निर्वाचनको सबै प्रक्रियामा छलछाम भएको छ। यो खारेज हुनुपर्छ,’ हसेनले भने।  निर्वाचन परिणामबारे थप निर्णय गर्न विपक्षी गठबन्धनको सोमबार बैठक बस्दैछ।

प्रधानमन्त्री हसिनाका छोरा सजिव वाजेदले भने हार्नेहरूले गलत आरोप लगाएको दाबी गरे।

निर्वाचन आयोगले चुनावमा भएको धाँधलीबारे अनुसन्धान थाल्ने जनाएको छ।

Write a Comment

Events
Random Picks