क्यानले मुद्दा फिर्ता लियो, आईसीसीको निलम्बन फुकुवा सहज
6-January-2019

जक्सन डटकम
पोखरा, पुष २२

नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छ । क्यान पदाधिकारीले शुक्रबार नै मुद्दा फिर्ता लिएको बेहोरासहितको निवेदन सर्वोच्चमा दर्ता गराएको हो । यससँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया सहज अघि बढ्ने अनुमान गरिएको छ ।

 यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो समानान्तरमा अर्को तदर्थ समिति गठन गरेपछि क्यान निर्वाचित समितिले सो निर्णयविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता गराएको थियो । सोही मुद्दाका कारण आईसीसीले निलम्बन फुकुवाको प्रक्रिया अघि बढाउन मुस्किल भएको जनाउँदै आएको थियो ।

 निर्वाचित समितिले यसअघि नै मुद्दा फिर्ता लिने घोषणा गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन भने शुक्रबार गरेको हो । ‘हामीले मुद्दा फिर्ता लिएपछि कसरी र कुन प्रक्रियामार्फत निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्छ भनेर आईसीसीको टाइमलाइन कुरिरहेका थियौं । 

त्यो टाइमलाइन अझै आउन बाँकी छ’, निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘यद्यपि हामीले यसअघि नै घोषणा गरेअनुसार मुद्दा फिर्ता लिएका छौं । त्यससम्बन्धी निवेदन शुक्रबार नै सर्वाेच्चमा दर्ता गरिसकेका छौं । बाँकी कुरा सहज अघि बढ्ने विश्वास लिएको छु ।’

Write a Comment

Events
Random Picks