झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
11-March-2019


झापा, फागुन २७

विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको च्याम्पियन बन्न सफल भएको छ। सोमबार भएको फाइनल खेलमा आयोजक झापा ११ लाई ५-३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो।

उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ। उपविजेता बनेको झापाले नगद ६ लाख ५ हजारमा चित्त बुझाउनु पर्यो। सोमबार विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा आर्मीले जितका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गर्यो। झापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको थियो।

पहिलो हाफको २४ मिनेटमा आर्मीका सन्तोष तामाङ फ्रि किकमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। उनले व्यक्तिगत २ गोल गरे। आर्मीको जितका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले गोल गरेका हुन्। झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस् र भिक्टोरले गोल गरे ।

झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो। आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो। झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि हालसम्म उपाधि रक्षा गर्न नसक्दा अभागी सावित बन्यो।

दर्शकको भरपुर समर्थन पाएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राइकर कर्ण लिम्बू, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रेको थियो। आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित झापासँग भिडेको थियो ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर झापाका दिलेन लोक्ताम घोषित हुँदै मोटरसाइकल पुरस्कार पाए। बेस्ट डिफेन्स झापाकै देवेन्द्र तामाङले २१ हजार, राइजिड प्लेयर निशान्त खड्काले १५ हजार, बेस्ट कोच आर्मीका चुनबहादुर थापाले २१ हजार, बेस्ट किपर विकेश कुथुले २१ हजार र म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङले नगद १५ हजार पाए।

त्यस्तै, सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठले ३ गोल गर्दै नगद २१ हजार पाउन सफल भए। बेस्ट मिडफिल्डर झापाका पुजन उपरकोटी घोषित हुँदै नगद २१ हजार पाउन सफल भए।

 

Write a Comment