युरोकपका लागि २० टोलीको टुंगो लाग्यो, क्रोएसिया र टर्की पनि छानिए
14-October-2015

काठमाडौं, असोज २७ । क्रोएसिया र टर्की युरोकप फुटबल च्याम्पियनसिपका लागि छनोट भएका छन् । मंगलबार राति भएका अन्तिम चरणका छनोट खेलमा विजयी हुँदै क्रोएसिया र टर्कीले फ्रान्समा अर्को वर्ष हुने युरोकपका लागि टिकट काटेका हुन् । समुहको अन्तिम खेलमा क्रोएसियाले माल्टालाई १–० ले हरायो ।

जितसँगै क्रोएसिया समुह एच मा उपविजेता बन्दै युरोकपको लागि छानिएको हो । यसैगरी समुह ए मा तेस्रो स्थान लिँदै टर्की पनि युरोकपका लागि छानिएको हो । समुह चरणमा तेस्रो हुने ९ टोलीमध्ये उत्कृष्ट बन्दै टर्की सोझै प्रतियोगितामा छनोट भएको हो ।यो समुहमा चेक गणतन्त्र र आईसल्याण्ड पहिलो र दोस्रो हुँदा नेदरल्याण्ड्स भने चौथो स्थानमा रहँदै प्ले अपमा पुग्न पनि असफल भयो ।

मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा चेक गणतन्त्रसँग ३–२ ले पराजित भएसँगै नेदरल्याण्ड्सको प्ले अपमा छनोट हुने सम्भावना समेत समाप्त भएको हो ।

समुह चरणका खेलहरु सकिएसँगै अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबलको लागि २० वटा टोलीहरुको टुंगो लागेका छ । बाँकी ४ वटा टोलीहरु प्ले अपबाट छानिनेछन् । समुहमा तेस्रो हुने टोलीले प्ले अप खेल्नेछन् ।

प्ले अपका लागि छानिएका आठ टोलीहरुमा हंगेरी, युक्रेन, नर्वे, डेनमार्क, स्विडेन, गणतन्त्र आयरल्याण्ड, बोस्निया हर्सगोभिना र स्लोभेनिया रहेका छन् ।
 

Events
Random Picks