थ्रीस्टार राष्ट्रिय लिग च्याम्पियन, जित्यो एक करोड
17-October-2015

काठमाडौं, असोज ३० । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको अन्तिम खेलमा मनाङमर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब ३५ अंकका साथ शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो ।

थ्रीस्टारलाई जिताउनेक्रममा ओलावाले र विजय धिमालले एक–एक गोल गरे । जितसँगै थ्रीस्टारले एक करोड रुपैयाँ जितेको छ । यस्तै, ३३ अंकमा रही लिग सकाएको त्रिभुवन आर्मी क्लबले उपविजेता बन्दै ५० लाख रुपैयाँ जितेको छ ।

यस्तै, अन्तिम खेलमा थ्रीस्टारसँग पराजित भएको मनाङ ३१ अंकसहित तेस्रो स्थानमै खुम्चिएको छ । मनाङले २५ लाख रुपैयाँमै चित्त बुझाएको छ ।

पहिलो पटक ‘होम एन्ड अवे’का आधारमा भएको प्रतियोगितामा नौ टिम सहभागी भएकामा मोरङ फुटबल क्लब विराटनगर पुछारमा रह्यो ।