डेभिड बेकह्याम फुटबल खेल्न नेपालमा
6-November-2015

काठमाडौं, २० कात्तिक– विश्वमै चर्चित बेलायती फुटबलर स्टार डेभिड बेकह्याम शुक्रबार बिहान काठमाण्डु ओर्लिएका छन् । बीबीसीको एक डकुमन्ट्री बनाउने टोलीसहित फुटबल खेल्न उनी काठमाण्डु आएका हुन् ।

विमास्थलबाट द्धारिका होटेलमा केहीबेर आराम गरेपछि उनी भक्तपुरको सल्लाघारीबाट टेम्पो चढेर पद्य उच्च मावि पुग्ने र बालबालिकासँग भेटघाट गर्ने कार्यक्रम छ । त्यस लगत्तै उनी टौमदी पुगेर बालबालिकासँग फुटबल खेल्नेछन् ।

युनिसेफका सद्भावना दूत रहेका बेकह्याम पपुवा न्यूगिनीमा स्थानीय बालबालिकासँग फुटबल खेलेर नेपाल आएका हुन् । डकुमेन्ट्री खिच्ने र यूनिसेफलाई सहयोग जुटाउने उद्देश्यले बेकह्यामले सात दिन ७ महाद्धिपमा फुटबल खेल्ने क्रममा नेपाल आइपुगेका हुन् ।

बेकह्यामले थप अन्टार्कटिका, जिबुटी, मायामी, ब्युनस आयर्समा फुटबल खेल्नेछन् । दुई बर्षअघि व्यावसायिक फुटबलबाट सन्यास लिएका बेकह्याम सात महादेशको भ्रमणबाट बेलायत फर्किएर अन्तिम खेल म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोडमा खेल्नेछन् । सो क्लबबाट उनले ११ बर्ष व्यावसायिक फुटबल खेलेका थिए ।

बीबीसी वान र बीबीसी विश्व सेवाको टोलीले निर्माण गर्ने डकुमन्ट्री ९० मिनेटको हुनेछ । सन् २००७देखि युनिसेफ युकेको सद्भावना दूत रहेका उनी मलेरिया नो मोर नाम संस्थाका समेत सद्भावना दूत हुन् ।

Write a Comment

Events
Random Picks