साफ च्याम्पियनसिप आजबाट भारतमा सुरु, नेपाल र श्रीलंका भिड्दै
22-December-2015

काठमाडौं, पुस ८ । एघारौं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आज(बुधबार)बाट भारतमा सुरु हुँदै छ । भारतको केरलास्थित त्रिबेन्द्रममा हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का दुई टोली नेपाल र श्रीलंका भिड्दैछन् ।

म्याच फिक्सिङ प्रकरण र एन्फा अध्यक्ष गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएपछि संकटमा पुगेको नेपाली फुटबललाई यो प्रतियोगिताले आफ्नो छबी सुधार्ने अवसर दिएको छ ।

तर त्यसको लागि खेलाडीहरुले त्यही अनुसारको प्रदर्शन गर्नुपर्ने हुन्छ । नेपाल र श्रीलंकाबीचको इतिहास हेर्ने हो भने श्रीलंका बलियो देखिएको छ ।
यी दुई देशबीच हालसम्म खेलिएका १३ खेलमध्ये नेपालले दुई वटामा मात्रै जित हात पारेको छ । ६ खेल बराबरीमा सकिएका छन् भने पाँच खेलमा नेपाल पराजित भएको छ ।

फिफा बरियतालाई आधार मान्ने हो भने श्रीलंका १ सय ९४ औं स्थानमा रहेको छ भने नेपाल १ सय ९२ औं स्थानमा रहेको छ ।
नेपालकै समुहमा रहेको भारत भने १ सय ६६ औं स्थानमा छ । यही समुहमा रहेको अर्को टोली पाकिस्तानले भने प्रतियोगितामा भाग नलिने जानकारी गराइसकेको छ । प्रतियोगिताको समुह बी मा साविक विजेता अप्गानिस्तानसँगै माल्दिभ्स, बंगलादेश र भुटान रहेका छन् ।

साफ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । साफ खेल्ने आठ राष्ट्र मध्ये पाँच टोलीले प्रतियोगिता जितिसकेका छन् । 

जसमा भारत ६ पटक तथा अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले एक–एक पटक उपाधि जितेका छन् ।

पाकिस्तान, नेपाल र भुटानले भने हालसम्म उपाधि जित्न सकेका छन् । यसपटक अनिल गुरुङको कप्तानीमा भारत पुगेको नेपाली टोलीमा युवा खेलाडीहरुको बाहुल्यता रहेको छ ।

photo : goalnepal