१४औं आहा! रारा गोल्ड कप : आयोजक सहारा बिजयी
19-January-2016

५ माघ, पोखरा । पोखरामा मंगलबारदेखि शुरु भएको आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा आयोजक सहारा क्लबले बिजयी शुरुवात गरेको छ । नव जनजागृति युवा क्लबलाई तीन-शून्य गोलले हराउँदै सहाराले बिजयी शुरुवात गरेको हो ।

सहाराले पहिलो हाफको छैटौं मिनेटमै अफ्रिकन खेलाडी एल्विसको गोलमा अग्रता लिएको थियो । त्यसपछि ५२ औं मिनेटमा जि माटिरियल र ६६ औं मिनेटमा सब्सटिच्यूट खेलाडी कमल थापाले गोल गर्दै सहारा क्लवको जित सुनिश्चित गरे ।

मंगलबारको खेलमा आयोजक सहारा क्लब पोखराका एल्विस म्यान अफ दी म्याच भए ।

यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा उनले १३ औं साफ गेम नेपालमा हुने बताउँदै त्यसको उदघाटन सुन्दर नगरी पोखरामा गर्नुपर्ने र त्यसका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिए । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरामा प्रतियोगिताको उदघाटन गरेर आमन्त्रित अतिथीहरुलाई मन्त्रमुग्ध पार्दै पर्यटनको प्रचार गरिनुपर्ने उनको भनाई थियो ।

सभासद यज्ञबहादुर थापाले गत बैशाख १२ गते नेपालमा आएको बिनाशकारी भूकम्पले पोखरा रंगशालामा पनि क्षति पुर्‍याएको बताउँदै यसको पुनर्निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले सुन्दर नगरी पोखरामा रहेको रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउँदै त्यसका लागि सबै दल र कास्कीका सभासद एकजुट भएर सरकारलाई दवाब दिनुपर्ने बताए ।