एप्पलले ल्यायो सस्तो आइफोन, के-के छन् फिचर्स ?
24-March-2016

आइप्याडको बहुप्रतिक्षित नयाँ संस्करण सार्वजनिक गरेको छ । क्यालिफोर्नियास्थित एप्पल मुख्यालयमा गएराति भएको विशेष समारोहमा एप्पलका नयाँ उत्पादन सार्वजनिक भएका हुन् । स्मार्टफोन बजारको बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै एप्पलले यसपटक नयाँ संस्करणको आइफोनको मूल्य निकै घटाएर प्रस्तुत गरेको छ ।

नयाँ आइफोन एस इ

एप्पलले सार्वजनिक गरेको आइफोनको नयाँ संस्करणको नाम हो आइफोन एस इ । यो हेर्दा आइफोन फाइभ एस जस्तै देखिन्छ तर यसको क्षमता भने आइफोन सिक्स एस को जत्तिकै छ । यसमा १२ मेगापिक्सेलको रेटिना फ्लास सहितको मुख्य क्यामरा रहेको छ, जसले फोर के रिजोलुसनका भिडियो खिच्न सक्दछ । साथै १.२ मेगापिक्सेलको सेल्फी क्यामरा पनि रहेको छ । यसमा एक गिगाबाइटको र्यामका साथै ६४ बिटको ए नाइन चिस तथा एम नाइ मोसन को प्रोसेसर रहेको छ ।

यो आइफोनको ४ इन्चको डिस्प्ले रहेको हुँदा यसलाई मिनि आइफोन नाम दिइएको छ । यसमा आइओएस ९.३ अपरेटिंग सिस्टम रहेको छ । यो नयाँ आइफोन रोज गोल्ड, गोल्ड, सिल्भर तथा स्पेस ग्रे गरी ४ रंगमा उपलब्ध हुनेछ । २४ मार्चदेखि यो नयाँ आइफोन अर्डर सुरु हुने र ३१ मार्चदेखि बजारमा पठाउन सुरु गरिने एप्पलले जानकारी दिएको छ ।

एप्पलको उत्पादनको अधिक मूल्यलाई लिएर मध्यम वर्गीय उपभोक्ताको सधै गुनासो रहने गर्छ । तर यस पटक एप्पलले आफ्नो आइफोनको मूल्य कम गरी बजार विस्तार गर्ने सोँच बनाएको देखिन्छ । यो नयाँ आइफोनको मूल्य निकै सन्तुलित बनाइएको छ । १६ जिबी क्षमताको आइफोन एस इ को मूल्य ३ सय ९९ डलर तथा ६४ जिबी भेरिएन्टको मूल्य ४९९ डलर राखिएको छ ।

मुख्य बिशेषता

स्क्रिन साइज ४ इन्च
क्यामेरा १२ मेगापिक्सेल, रेटिना फ्ल्याससहित
भिडियो ४ के क्वालिटी
अपरेटिङ सिस्टम iOS ९.३
उपलब्ध रंगहरू रोज गोल्ड, गोल्ड, सिल्भर र स्पेश ग्रे
मूल्य १६ जीबी- ३९९ डलर, ६४ जीबी- ४९९ डलर
थप बिशेषता एप्पल पे, सुधारिएको ब्याट्री लाइफ र तिब्र गतिको वाइफाइ

आइफोन सिक्स तथा आइफोन फाइभ एसमा जस्तै यो आइफोनको किनारा पनि गोलाकार रहेको छ । यो नयाँ आइफोन मे महिनादेखि विश्वका झण्डै १ सय देशका बजारमा उपलब्ध हुनेछ । फोनमा टच आइडी प्रविधि रहेको छ ।

तुलना गर्नुहोस्, कुन अाइफोन तपाइँका लागि उपयुक्त ? 

 

नयाँ आयप्याड प्रो

नयाँ आइफोन सँगै एप्पलले सानो आकारको आइप्याड पनि सार्वजनिक गरेको छ । यो आइप्याड आकारमा सानो भएपनि शक्तिशाली छ । आइप्याड प्रोको नयाँ संस्करणको रुपमा रहेको यो आइप्याडमा अघिल्लो संस्करण आइप्याड एयर टू मा भन्दा ४० प्रतिशत कम रिफ्लेक्टिभ डिस्प्ले रहेको छ । यसमा टू टोन डिस्प्ले नामको नयाँ डिस्प्ले प्रविधि रहेको छ । यसमा डिस्प्लेको रंग तापक्रम अनुसार परिवर्तन हुन्छ । आइप्याड प्रो मा चारवटा स्पिकर रहेका छन् । यसमा एनाइन एक्स प्रोसेसर सँगै स्मार्ट किबोर्ड एक्सेसरीज पनि छ । ९.७ इन्चको यो आइप्याडले एप्पल पेन्सिल पनि सपोर्ट गर्दछ । यसमा १२ मेगापिक्सेलको क्यामरा पनि रहेको छ, जसले लाइभ फोटो पनि सपोर्ट गर्दछ ।

आइप्याड प्रो स्टोरेजका हिसाबले तिनवटा मोडेल जारी गरिएको छ । ३२ जिबी मोडेलको मूल्य ५४९ डलर रहेको छ । १२८ जिबी मोडेलको मूल्य ७४९ डलर तथा ५६ जिबी मोडेलको मूल्य ८९९डलर तोकिएको छ । आइप्याड प्रो को पि्र अर्डर २४ मार्चदेखि सुरु हुने बताइएको छ । ३१ मार्च सम्म यसको पि्र अर्डर गर्न सकिनेछ ।

एप्पलले नयाँ आइफोन तथा आइप्याडसँगै आफ्नो स्मार्ट वाच सेगमेन्टका पनि नयाँ चिज सार्वजनिक गरेको छ । एप्पल वाचको नयाँ नाइलन ब्याण्ड सार्वजनिक गरिएको छ र यसमा केही नयाँ रंग पनि थपिएको छ । साथै यसको मूल्यमा पनि भारी सहुलियत दिइएको छ । ३ सय ९९ डलरबाट यसको मूल्य घटाएर २९९ डलर कायम गरिएको छ ।
नयाँ ग्याजेट लन्चिंङ समारोहमा एप्पलका सिइओ टिम कुकले विश्वमा एप्पलका १ अर्ब भन्दा बढि डिभाइस प्रयोगमा रहेको विषय कम्पनीका लागि गर्वको विषय रहेको बताएका थिए ।

हाल संदिग्ध अपराधीको आइफोन अनलक गर्ने विषयमा अमेरिकी सरकारसँग चलिरहेको विवादका विषयमा बोल्दै कुकले आइफोन निजी उपकरण भएको र आफुहरुको आफ्ना ग्राहकहरुको गोपनीयताको रक्षाका लागि प्रतिबद्ध रहेको बताए । अमेरिकी सरकारले एप्पलको अपरेटिंग सिस्टममा घुस्ने बाटो खोजिरहेको दाबी कुकको छ ।

अनलाईन खबर डट कम बाट