मेस्सी त मानिस नै होइनन्, रोनाल्डो मानिसहरुकै उत्कृष्ट : पिके
5-April-2016

चैत २३ – स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो मानव जातिकै सबै भन्दा उत्कृष्ट फुटबलर रहेको बताएका छन् । तर उनी बार्सिलोनाका स्ट्राइकर लियोनेल मेस्सी भन्दा पछि रहेको पिकेले बताए, किनकी मेस्सी पृथ्वीको मानव जाति नभएर अर्कै ग्रहबाट आएको उनको भनाई छ । मेस्सी र रोनाल्डो अहिलेको विश्वका सबै भन्दा उत्कृष्ट फुटबल खेलाडी मानिन्छन् । मेस्सीले पाँच तथा रोनाल्डोले तीन पटक बालोन डी’ओर जितेका छन् ।

पिकेले भने ‘मेरो विचारमा दुवै खेलाडीमा आश्चर्यजनक क्षमता छ । मेस्सी र रोनाल्डो अहिलेका मात्रै नभएर फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् ।’ तर मेस्सीसँग रहेका केही खुबी अरु कोहीसँग नरहेको उनको भनाई छ । उनले भने ‘मैले जहिले पनि भन्ने गरेको छु कि मेस्सीसँग त्यस्तो खुबी छ जो अरु कोही खेलाडीसँग छैन । उनको खुट्टाबाट बल कहिले टाढा रहन सक्दैन र यसलाई कसैले खोस्न पनि सक्दैन । यो उनको सबै भन्दा ठूलो खुबी हो । यो क्षमता अरु कोहीसँग छैन । उनी त अर्कै ग्रहबाट आएका एलियन जस्ता छन् ।’

रोनाल्डो फरक क्षमता सहितको खेलाडी रहेको तथा मेस्सी र रोनाल्डोलाई दाँज्नै नसकिने उनले बताए । उनले भने ‘रोनाल्डो विल्कुल फरक छन् । उनी अग्ला तथा बलिया छन् । उनले जे पनि गर्न सक्छन् । उनले हेड, फ्रिकिक, पेनाल्टीसहित जस्तो सुकै अवस्थामा गोल गर्न सक्छन् । उनी एक एकमा ट्याकल गर्न सक्छन् ।’ रोनाल्डो र मेस्सी दुवैसँग एउटै क्लबमा रहेर खेलेका पिकेले भने ‘मलाई मेस्सी मानिस नै होइनन् । उनी त अर्कै ग्रहबाट आएका एलियन हुन् । तर रोनाल्डो मानिसमा सबै भन्दा उत्कृष्ट खेलाडी हुन् ।’ पिकेले बार्सिलोनाको ला मासिए एकेडेमीबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड गएपछि सन् २००७–०८ को सिजनमा रोनाल्डोसँगै खेले । उनले युनाइटेड रहँदा प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यसपछि बार्सिलोना गएका पिकेले यो अवधिमा पाँच पटक ला लिगा, तीन पटक कोपा डेल रे तथा तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

पिकेले गएको आइतबार राति भएको ला लिगा अन्तर्गतको इएल क्लासिकोमा एक गोल गरेका थिए । तर यो खेलमा रोनाल्डोको गोलको मद्दतमा रियल मड्रिड २–१ ले विजयी भएको थियो ।

Write a Comment

Events
Random Picks