रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी बर्खास्त
26-May-2015

 काठमाडौं, जेष्ठ १२ । स्पेनिस क्लब रियाल मड्रिडले मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई बर्खास्त गरेको छ ।

लगातार दुई वर्ष स्पेनिस लिगको उपाधि जित्न नसकेपछि क्लब व्यवस्थापनले इटालियन प्रशिक्षक एन्सेलोटीलाई बर्खास्त गरेको हो । दुई वर्षअगाडि रियाल मड्रिडको मुख्य प्रशिक्षण सम्हालेका एन्सेलोटीले अघिल्लो वर्ष रियाल मड्रिडलाई स्पेनिस कप तथा युरोपियन च्याम्पियन्स लिग जिताएका थिए ।

क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले एन्सेलोटीले क्लबमा गरेको योगदानप्रति धन्यवाद दिँदै अर्को साता नयाँ प्रशिक्षक नियुक्त गर्ने बताएका छन् ।

रिक्त पदमा इटालियन क्लब नापोलीका स्पेनिस प्रशिक्षक राफा बेनिटेजलाई मुख्य दावेदारको रुपमा हेरिएको छ । इटालियन क्लब एसी मिलानलाई दुईपटक युरोपियन च्याम्पियन बनाइसकेका एन्सेलोटीले इंग्लिस क्लब चेल्सी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

Events
Random Picks