नेपाल बराबरीमा रोकियो...
30-May-2016

जेष्ठ १७, २०७३- नेपाल र लाओसले भियनटिनामा आइतबार भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल बराबरी खेलेका छन् । नेपालले विशाल राईको गोलले अग्रता लिए पनि त्यसलाई एक मिनेट पनि कायम राख्न सकेन र बराबरीमा चित्त बुझायो । जापानी प्रशिक्षक ग्योतोकु कोजीले टिम सम्हालेयता नेपालको यो पहिलो खेल हो । 

विशालले ७८ औं मिनेटमा गोल गरेका हुन् । त्यसको एक मिनेट नबित्दै लाओसले बराबरी गोल फर्काएको हो । घरेलु टिमका लागि फाथाना सिभिलले गोल गरे । लाओस जाने टिमको घोषणा हुँदा अनिल गुरुङ कप्तान भए पनि उनले सुरुदेखि खेल्न पाएनन् र विराज महर्जनले टिमको नेतृत्व गरे ।

नेपाल र लाओस एकापसमा भिडेको यो पहिलोपल्ट हो । बंगलादेशमा हुने अर्को संस्करणको साफ च्याम्पियनसिप अगाडि कुनै पनि अन्तर्राष्ट्रिय फुटबल नभएको स्थितिमा यो मैत्रीपूर्ण फुटबलको कार्यक्रम मिलाइएको थियो । लाओसले भने भारतविरुद्ध दुई लेगमा हुने एसिया कप छनोटको तयारीका लागि नेपालसँग खेलेको हो ।