नेदरल्याण्ड्समाथि नेपालको महत्वपूर्ण जित, शीर्ष चारमा पर्ने सम्भावना कायमै
15-August-2016

३१ साउन, काठमाडौं । पारस खड्काको कप्तानी पारीको मदतमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्समाथि १९ रनको महत्वपूर्ण जित हात पारेको छ ।

पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो जितसँगै शीर्ष चारमा पर्ने सम्भावना कायमै छ । नेदरल्याण्ड्सको भने ८ खेलमा यो पहिलो हार हो

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पारसको ८४ रनको मदतमा २१७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको घरेलु टोली अन्तिम ९ बल खेल्नु अघि नै १९८ रनमा अलआउट भयो ।

अन्तिम दुई ओभरमा उसलाई २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपालले विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको छ ।

खराब सुरुवात गरेको उसले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडे । यस्तै टी भान डेरले ३६ रन जोडे ।

नेपालका पारससँगै सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए । शक्ति गौचन, सन्दिप यलामिछाने र सागर पुनले १-१ विकेट हात पारे ।

नेपालको पनि सुरूवात राम्रो थिएन । ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरे ।

कप्तान खड्का ८४ रनमा आउट भए । पुनले ४५ रन जोडे ।उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

घरेलु टोलीका लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २-२ विकेट लिएका छन् ।

यस्तो छ अंक तालिका

नेदरल्याण्ड्स ८ खेलबाट १२ अंकका साथ शीर्ष स्तानमा छ । दोस्रो स्थनमा रहेको हङकङको ९ र तेस्रो स्थानमा रहेको स्कटल्याण्डको पनि ९ अंक नै छ । तर, स्कटल्याण्ड ७ खेल खेलेको छ भने हङकङले ६ खेल मात्र खेलेको छ । पपुवा न्यूगिनीको ८ अंक छ । नेपाल र केन्याको समान ६ ६ अंक भएको छ । तर, केन्या पााचौ र नेपाल छैटौं स्थानमा छ ।

Source: Onlinekhabar.com