१५ औं आहा ! रारा गोल्डकपमा सहारा क्लबको विजयी सुरुवात
17-January-2017

पोखरा ४ माघ । १५ औं आहा ! रारा गोल्डकपमा आयोजक सहारा क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकको टिमले सुदुरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४- ० ले गोल अन्तरले हराउदै क्वाटरफाईनलको यात्रा तय गरेको हो ।

खेलको छैटौ मिनेटमै विदेशी खेलाडी मार्टिनको गोलबाट अग्रता लिएको सहाराका लागि रिजार्ड पुनले २७ औं र सेगुनले ३८ औं र ८१ औं मिनेटमा पुन मार्टिनले गोल थप्दै फराकिलो अन्तरको जित सहित अन्तिम आठमा यात्रा तय गरेको हो । प्रतियोगितामा सहभागी सुदुरपश्चिम पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।

आजको विजेता सहाराले अन्तिम चारमा प्रवेशका लागि माघ ८ गते युनाइटेड सिक्किम भारतसँग प्रतिश्पर्धा गर्नुपर्नेछ । प्रतियोगिता अन्तर्गत भोलि सशस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लबविच प्रतिश्पर्धा हुनेछ ।

प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विदेशी र तीन विभागिय टिम सहित १२ टिमको सहभागिता छ । माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले विजेताले पाँच लाख एक हजार एक नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेतलाई दुई लाख ५१ हजार एक रुपैया नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव एबं प्रचार संयोजक केशबराज बरालले जानकारी दिए ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर , डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैया नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगितालाई हिमश्री फुड्को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ ।

Write a Comment