पहिचान लुकाएर डिज्नील्यान्ड घुमिरहेका मेसीलाई सबैले चिनेपछि...
17-March-2017

विश्व फुटबलका चर्चित स्ट्राइकर लिओनल मेसीको लुकेर पेरिसको डिज्नील्यान्ड हेर्ने सपना त्यतिबेला तुहियो, जब डिज्नील्यान्डमा घुम्न आएका व्यक्तिहरुले उनलाई एकै नजरमा मजाले चिने। 

मेसी मर्करी चश्मा र हुक भएको ज्याकेटको टोपीले अनुहार ढाकेर डिज्नील्यान्ड पुगेका थिए। त्यतिबेला उनीसँग प्रेमिका आन्टोनेला रोक्युजो तथा दुवै छोरा थियागो र माटियो पनि थिए। पेरिसको डिज्नील्यान्ड मेसीको प्रिय ठाउँ हो। उनी घुम्ने फुर्सद पाउना साथ बच्चाहरु पुगेर यहाँ पुगिहाल्छन्। यसै वर्ष मात्र उनी ६ महिनाको अवधिमा दोस्रो पल्ट यहाँ आएका थिए। आफ्नो परिचय लुकाएर डिज्नील्यान्ड भित्र प्रवेश गरेका मेसीलाई उनका फ्यानले छिट्टै पहिचान गरे। यसपछि भित्रै उनीसँग फोटो खिच्नेको भीड लागेको थियो।

मेसी च्याम्पियन्स लिगमा फ्रान्सकै पेरिस सेन्ट जर्मनी (पिएसजी) क्लबलाई दोस्रो लेगमा ६–१ ले हाराएको एक सातापछि नै पेरिस पुगेका हुन्। दुई दिनअघि स्पेनिस ला लिगामा डेपोर्टिभो ला कोरुनासँग २–१ ले पराजय भोगेपछि प्रशिक्षक लुइस एनरिकले बार्सिलोनाका खेलाडीलाई दुई दिनको छुट्टी दिएका थिए। यही छुट्टी मनाउन उनी परिवारका साथ पेरिसको डिज्नील्याण्ड पुगेका हुन्। ला लिगामा गत साता रियल म्याड्रिडसँग शीर्षस्थान गुमाएको बार्सिलोना पुनः त्यही स्थानमा फर्किन आइतबार भेलेन्सियासँग खेल्दैछ।

Write a Comment