नराेकिने तीन मेसी, स्वारेज र नेयमरकाे कथा
12-June-2015

काठमाडौ, जेष्ठ २९ - बार्सिलोनाले च्याम्पियन्स लिग जितेको केही घन्टापछि बीबीसीले आफ्नो अनलाइनमा एउटा प्रश्न गर्‍यो, ‘के यो टिम बार्सिलोनाको सर्वाधिक सफल र महान् टिम हो ?’ यो प्रश्न मोटामोटी तीनजना खेलाडीप्रति लक्षित छ, लियोनल मेसी, लुइस स्वारेज र नेयमर । युरोपको स्पेनी लिगमा खेल्ने यी तीनै खेलाडी दक्षिण अमेरिकी हुन् । कोपा अमेरिकामा एक–अर्का देशविरुद्ध यिनीहरू खेल्छन् । 

तर, फुटबलको मजा अहिले राष्ट्रिय टिममा खास छैन । फुटबलमा पैसा र प्रसिद्धी क्लबले दिलाउँछ, लिगले दिलाउँछ । बार्सिलोनाको फुटबल एकेडेमी ला मासियाका उत्पादन लियोनल मेसी, ब्राजिलको सान्तोसबाट आएका नेयमर र लिभरपुलबाट आएका स्वारेज अहिलेको समयका फुटबलका सबभन्दा ठूला स्टार हुन् । क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, करिम बेन्जमा, आर्जेन रोबिन, थोमस मुलर, मारियो बालाटोली, डियगो कोस्टा, फाल्काओ, रोनी, जाल्टान इब्रामोभिच सफल स्ट्राइकरहरूको यो लिस्ट निकै लामो हुनसक्छ । 

तर, मेसी नेयमर र स्वारेजले पाएको ‘ग्लोरी’ का अगाडि अहिले बाँकीको चमक फिका लाग्छ । च्याम्पियन्स लिगकै फाइनललाई लिउँ । खेलमा गोल गरे रेकिटिच, नेयमर र स्वारेजले । म्यान अफ द म्याच भए इनिएस्टा । तैपनि, यी सबैको खेलको बीचमा थिए मेसी । बार्सिलोनालाई जिताहा बनाउनुमा उनको सबभन्दा बढी योगदान छ । यो त उनले गरेका गोलले पनि देखाउँछ । 

अझै यी तीनै भाइलाई जोड्ने हो भने त यो सिजन १ सय २० गोलभन्दा बढीको गणना हुन्छ । यिनको खेल्ने शैली पनि फरक छ । मेसी टिकीटाकामा अभ्यस्त हुँदै आएका खेलाडी हुन् । जाभी हर्नान्डेजको वरिपरि घुम्ने टिकीटाका अहिले उनी क्लबबाट बाहिरिएसँगै करिब अन्त्यमा आइपुगेको छ । जाभीको बर्हिगमन र स्वारेजको आगमनले बार्सिलोनालाई अर्कै बार्सिलोना बनाइदिएको छ । 

अब पहिलेजस्तो बार्सिलोनाले धेरै पास खेल्दैन । सुन्दर फुटबल वा ‘टोटल फुटबल’ भनेर जसलाई भनिन्थ्यो त्यो मैदानको हरेक कुनाको फुटबल हो । टिकीटाका चाहिँ मिडफिल्डको । मिडफिल्डमा जतिसुकै बल खेलाए पनि अन्तिम नतिजा त गोलपोस्टमै आउने हो । यसैले फुटबलमा स्ट्राइकरको महत्व सबैभन्दा बढी छ, जसले गोल गर्छ । मेसी अहिले पनि एक्लै पाँच जना डिफेन्डर छलाएर गोल हान्न सक्छन् । 

नपत्याए दुई साताअघिको कोपा डेल रेको फाइनलमा उनले एट्लेटिको बिलबाओविरुद्ध गरेको गोल हेर्नुस् । नेयमर बल खेलाउन पनि सक्छन्, गोल गर्न पनि सक्छन् । इंगलिस प्रिमियर लिगमा गोल मसिनको उपनाम बनाएर बार्सा आएका स्वारेज चाहिएको बेला गोल गर्न सक्छन् । उनको खेलको शैलीमा अझै पनि इंगलिस लिगको गति छ । के यी तीनको संगमले बार्सिलोनालाई सबैभन्दा महान् टिम बनाउँछ त ? 

मेसी आफैं ४ पटक वर्ष खेलाडी भइसकेका खेलाडी हुन् । यसपाली बार्सिलोनाका लागि ‘ट्रिबल’ ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जिताएपछि उनी यसपालीका पनि प्रबल दावेदार हुन् । उनीसँगै नेयमर र स्वारेज पनि अन्तिम तीनमा परे भने अचम्म नमाने हुन्छ । किनभने बार्सिलोनामा यस्तो पहिले पनि भइसकेको छ । २००८/९ मा मेसी, जाभी र इनेस्टा अन्तिम तीनको सूचीमा थिए । 

त्यतिबेला यस्तो फेरि दोहोरिन्न होला भन्ने लागेको थियो । तर, प्रशिक्षक पेप ग्वार्डिवलाको म्युनिख प्रस्थान र इनरिकेको बार्सा आगमनले फेरि इतिहास दोहोरिने सम्भावना देखाएको छ । युभेन्टसविरुद्ध बर्लिनमा बार्साले गरेका सबै गोलको ‘सेलिब्रेसन’ चर्को थियो । बार्सिलोनाका लागि सेन्टर जाभीले खेलेको १ सय ५१ औं र तथा अन्तिम खेलमा पहिलो गोल गर्ने क्रोयसियाली राकिटिचका लागि यो गोल जाभीको ठाउँ लिने तमसुक जस्तो थियो । 

ठूलो खेलमा, चाहिएको बेला यदि कुनै मिडफिल्डरले गोल गरिदिन्छ भने उसको नम्बर यसै बढ्छ । दोस्रो गोल विजयी गोल थियो । यसैले होला स्वारेज गोल गर्ने बित्तिकै ‘हेलिकप्टर’ मा रूपान्तिरित भए र उड्न थाले । नेयमरका लागि चाहिँ केही मिनेट अगाडि नभएको गोलको क्षतिपूर्ति थियो । यसैले उनी पनि उड्न थाले । 

स्वारेजका लागि त यो गोल ४ महिने प्रतिबन्धको बदला थियो । 

इटलीविरुद्धको खेलमा डिफेन्डर जर्जियो चिलेनीलाई टोकेकोमा उनी प्रतिबन्धित भएका थिए । तिनै चिलेनीको क्लब युभेन्टसविरुद्ध गोल गर्दा उनी अतिरिक्त खुशी हुनु स्वभाविक थियो । अन्तिम समयमा चिलेनी टिममा परेनन्, अन्यथा यी दुईको भेट झन् रोचक हुने थियो । बार्सिलोनाका लागि जाभी र इनेस्टासँग मिलेर मेसीले जति उपाधि जितेका छन्, यो एकै सिजनमा त्यसको छेउछाउ पुग्न संभव छैन । 

त्यसैले एकै सिजनमा यस्तो तुलनाको खासै अर्थ हुँदैन । यसअघि पनि बार्सिलोना थियरी अनरीदेखि रोनाल्डिनोसम्मका स्टार खेलाडीले भरिएको क्लब थियो । खेलाडीको व्यक्तिगत सफलताको हिसाबले त जाभी र इनेस्टासँग विश्वकप जितेको गौरव पनि गाँसिएको छ, जुन मेसी, नेयमर र स्वारेजका लागि यो उपलब्धि अझै पुग्नुपर्ने शिखर जस्तै छ । 

युरोपको फुटबलका लागि युरो कप नै मिनी विश्वकप हो । अझै ग्ल्यामर र चर्चाको हिसाबले त यो विश्वकप जत्तिकै छ । दक्षिण अमेरिकी भएकाले मेसी, नेयमर र स्वारेज यसको ग्ल्यामर पाउनबाट बञ्चित छन् । पछिल्ला ३ विश्वकप पनि युरोपले नै जितिरहेको छ । गत वर्ष जर्मनी, त्यसअघि स्पेन र इटलीले । यस हिसाबले फुटबलको केन्द्रमा युरोप नै छ । तर, जब लिगको कुरा आउँछ, युरोपको खेलमा अमेरिकी हस्तक्षेप देखिन्छ । 

मुलत : नेदरल्यान्ड र जर्मनीका खेलाडी मिलेर बनेको जर्मनीको लिग च्याम्पियन बार्यन म्युनिख बार्सिलोनालाई टक्कर दिने युरोपको क्लब हो, जसमा युरोपका खेलाडीको बोलबाला छ । अघिल्लो च्याम्पियन्स लिगमा बार्यनसामू बार्सा लज्जास्पद रूपमा पराजित भएको थियो । यसपालि बार्साले त्यसको बदला लियो । च्याम्पियन्स लिगकै क्वाटरफाइनलमा फ्रान्सको लिग च्याम्पियन पिएसजीलाई पनि बार्साले पराजित गरेको थियो । 

फाइनलमा इटलीको च्याम्पियन युभेन्टस बार्साको सिकार बन्यो । यसरी हेर्दा बार्साको मेसी, नेयमर स्वारेज ‘ट्रोयका’ले युरोपका तीनवटा ठूला लिगका विजेतालाई पराजित गरेको छ । इंगलिस प्रिमियर लिग च्याम्पियन चेल्सी भने च्याम्पियन्स लिगमा माथिसम्म आइपुग्नै सकेन । एकथरी अर्जेन्टिनी मिडिया मेसीलाई आधा स्पेनी ठान्छन् । 

उनीहरूको भनाई छ, मेसीले स्पेनमै धेरै फुटबल खेले, उपाधि पनि स्पेनी क्लबकै लागि जिते, अर्जेन्टिनालाई नजिताए पनि उनलाई केही फरक पर्दैन । युरोप आएपछि नेयमरको पनि ब्राजिलको गर्वको छविमा केही दाग लागेको छ । विश्वस्तरीय स्टार भएर पनि ब्राजिलमै खेलेर प्रसिद्ध कमाएर नेयमर ब्राजिलले पछिल्लो समय गरेको आर्थिक वृद्धिको प्रतीक बनेका थिए । एउटै टिममा धेरै स्टार भएका क्लब अरू पनि छन् । स्पेनकै रियल मड्रिड वा जर्मनीको बार्यन । 

धेरै एट्याकिङ मिडफिल्डर/स्ट्राइकर हुनुको फाइदा के हो भने एउटा चुके अर्कोले गोल गर्छ । एउटाले हानेको बल फर्किएर आए पनि त्यो अर्काको खुट्टामा पर्छ । टिकीटाकाबाट विमुख भइरहेको अहिलेको बार्सिलोना त्यही हो । मिडफिल्डमा ‘सुन्दर’ फुटबलको मात्रा घटे पनि बार्साले गोल गर्ने क्रम बढाएर सफलता पाइरहेको छ । यस्तोमा मेसी, नेयमर र स्वारेजलाई रोक्नु कुनै टिमका लागि ठूलै चुनौती हुन्छ ।