आइटिएफ टेनिसको क्वाटरफाइनल सम्पन्न, भण्डारी र महंतीको भिडन्त आज
13-September-2017


जकसन डटकम
पोखरा, २९ भदौँ 

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप टेनिस प्रतियोगिता अन्र्तगत ३५ वर्ष माथि नेपालका शिर्ष बरियताका कमल बहादुर भण्डारी र प्रतियोगिताकै आइटिएफ शिर्षस्थानका भारतिय खेलाडी दिलिप महंतिबिच बिहीबार भिडन्त हुने भएको छ । कमल बहादुर भण्डारीले राजु श्रेष्ठ (गोरखा) लाई ६–१, ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । त्यसैगरि महंतिले नेपाली खेलाडी मानसिंह थापालाई ६–२, ६–० को सोझो सेटमा पराजित गरेर सेमिफाइनलमा प्रवेश गरे । भण्डारी र महंतिविचको प्रतिस्पर्धा प्रतियोगिताकै कडा प्रतिस्र्धाका रुपमा हेरिएको छ । 

‘महंतिलले सबै प्रकारका सर्टहरु खेलेका छन्, उनी बलिया खेलाडी हुन्’ नेपालका कमल भण्डारीले भने–‘तर म उनलाई अवश्यनै आफ्ट्यारोमा पार्नेनै छु ।’ महंतिले सेमिफाइनलको उक्त प्रतियोगिता ‘फिप्टी फिप्टीकै हुन सक्ने बताए । ‘नेपालकै शिर्षस्थानका खेलाडी भनेपछि पक्कैपनि राम्रो होलान्, खेल बराबरीकै होला भन्ने सोंचेको छु’–उनले भने । 

प्रतियोगितामा तेश्रो मुलुकका एकमात्रै खेलाडी फिन्ल्याण्डका पिक्का रन्तला प्रतियोगिताबाट बाहिरिएका छन् । उनी सेमिफाइनलमा भारतका कमलेश शुक्लासंग ६–१, ६–१ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बिदा लिए । साह्रो कोर्ट र चर्को घामका कारण प्रतियोगितामा अगाडी बढ्न नसकेको पिक्काको प्रतिक्रिया थियो । भारतकै स्वर्णदिप सिंह ढोढीले पनि सेमिफाइनलमा स्थान बनाए । ढोढीले पोखराका गोपीबहादुर भट्टराईलाई ६–१, ६–२ को सहज सेटमा पराजित गर्दै अर्का भारतिय खेलाडी कमलेशसंगको सेमिफाइनल भेट पक्का गरे । 

४५ वर्ष माथिको एकलमा भारतका चन्द्र भुषण, नेपालका प्रताप मोक्तान र नेपालकै विमल गुरुङ्ग सेमिफाइनल पुगेका छन् । चन्द्र भुषणले मनोज बिक्रम शाहलाई ६–१, ६–१ मा, प्रतापले आशिष सिग्देललाई ७–५,३–६ र ६–२ मा र विमलले राजु श्रेष्ठलाई ६–४, १–६ र ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । सोहि इभेण्टमा अनुज बाँस्तोलाले अमृत कार्कीलाई ६–१, ७–५ को सेटमा पराजित गर्दै क्वाटरफाइलमा प्रवेश गरे । 

५५ वर्ष माथिको एकलमा भारतका प्रदिप कुमार गुप्ता, नेपालका झ्म्बा ढुण्डुप, मनोज शम्शेर राणा र समिर शेरचनले सेमिफाइनलमा स्थान बनाएका छन् । भारतका प्रदिपले भारतकै बिएनएस नेगीलाई ६–०, ६–२ मा झ्याम्बाले पदम गुरुङ्गलाई ६–२, ६–४ मा, मनोजले करिमुल्ला मुस्लिमलाई ६–१, ६–२ मा तथा समिरले राजेन्द्रसिंह भण्डारीलाई ६–४, ३–६ र ६–१ को प्रतिस्प्रधात्मक सेटमा पराजित गर्दै अन्तिम चारमा आ–आफ्नों नाम लेखाएका हुन् । 

प्रतियोगिता अन्र्तगत डबल्सतर्फको प्रतिस्पर्धापनि बुधबारबाटै शुरु भएको छ । ३५ वर्ष माथिको डबल्समा गोपीबहादुर भट्टराई र नविन चालिसेको जोडिले राजन बिजुक्छे र सुरेश कुमार श्रेष्ठको जोडिलाई ७–५,७–६ ले पराजित गरे भने मनोज राणा र स्वर्णदिप सिंहको जोडिले सूर्य भुजेल र लोक गुरुङ्गको जोडिलाई ६–२, ६–१ को सेटमा पराजित गरे । त्यसैगरि महेश श्रेष्ठ र मानसिंह थापाको जोडिले सिमान्त गुरुङ्ग र निमा लामा शेर्पाको जोडिलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।