छात्रछात्रा बास्केटबलको फाइनल आज
23-November-2017


जकसन डटकम
पोखरा, ०८ मंसिर

पोखरामा जारी १५ औं संस्करणको विद्यालयस्तरिय कर्णेल जे.पी. क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिताको फाइनलमा छात्रतर्फ बालकल्याण र टप्स ए तथा छात्रातर्फ टप्स र मनकामना बोर्डिङ स्कूल उपाधीका लागि भिड्ने भएको छ।

प्रतियोगिता अन्तरगत विहिबार छात्रतर्फको पहिलो सेमीफाइनलमा टप्स ए ले प्यारामाउण्ट स्कूललाई ६१–४२ अंकले हराउँदै उपाधीका लागि फाइनल पक्का गरेको थियो। त्यसैगरी बालकल्याणले कास्की मोडर्नाइज्डलाई ६०–३५ अंकले हराउँदै टप्स एसंगको फाइनल पक्का गरेको छ।

प्रतियोगिताको उपाधीका लागि शुक्रबार दिउँसो छात्रातर्फको टप्स र मनकामना बोर्डिङ स्कूलबीच पहिलो र छात्रतर्फको टप्स ए र बालकल्याणबीच दोस्रो फाइनल खेल हुने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्रबहादुर सेनले बताए। अध्यक्ष सेनका अनुसार शुक्रबार विहान तेस्रो स्थानका लागि  छात्रातर्फको रेन्बो एकेडेमी र माउण्ट अन्नपूर्णबीच पहिलो खेल र छात्रतर्फ  प्यारामाउण्ट र कास्की मोडर्नाइज्डबीच दोस्रो खेल हुनेछ।

विहिबार नै सम्पन्न क्वार्टरफाइनलमा टप्स ए ले मनकामना बोर्डिङ स्कूललाई ५०–४०, प्यारामाउण्ट बोर्डिङ स्कूलले कुमुदिनी होम्सलाई ४०–३३, कास्की मोडर्नाइज्डले सोसियल पब्लिकलाई ४६–३८ र बालकल्याणले माउण्ट अन्नपूर्णलाई २४–१५ अंकले हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो। 

प्रतियोगिता अन्तरगत छात्रातर्फको सम्पन्न सेमीफाइनल खेलमा टप्सले रेन्बो एकेडेमीलाई ३३–१० को फराकिलो गोल अन्तरले हराउँदै फाइनल पक्का गरेको हो। त्यसैगरी, अति प्रतिस्पर्धात्मक दोस्रो सेमीफाइनलमा मनकामना बोर्डिङ स्कूलले माउण्ट अन्नपूर्णलाई १५–१४ को झिनो अंकले हराउँदै फाइनलमा टप्ससंगको भेट पक्का गरेको हो। 

प्रतियोगिताको क्वार्टरफाइनलमा टप्सले सरस्वती आवासिय विद्यालयलाई २१–१८, रेन्बो एकडेमीले बीएमजीलाई २४–१०, माउण्ट अन्नपूर्णले कास्की मोडर्नाइज्डलाई १२–६ र मनकामनाले एलएलाई १६–० को अंकले हराउँदै सेमीफाइनल खेलेको थियो।

छात्रछात्रा दुबैतर्फ प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीय हुने टिमले ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगिताको हाइस्कोरर र बेष्ट प्लेयरका लागि आकर्षक पुरस्कार रहेको छ आयोजकले बताएको छ। 

प्रमूख अतिथि एवम् नेपाली सेना पश्चिम पृतना विजयपुरका पृतनापती देबेन्द्रबहादुर मेधासी ठकुरीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ।

 

Write a Comment

Events
Random Picks