नेपाल महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको अघिल्लो चरण पुग्न असफल
26-November-2017


जकसन डटकम
पोखरा, १० मंसिर

नेपालले आइसिसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनौटमा पुग्न असफल भएको छ । नेपालले आइतबार चीनलाई हराए पनि युएईले मलेसियालाई ३४ रनले हराएपछि ग्लोबल छनोट खेल्ने नेपालको सम्भावना सकिएको हो । प्रतियोगिताको शीर्ष २ स्थानमा रहने टीम ग्लोबल क्वालिफायरका लागि छनौट हुने प्रावधान छ । यसका लागि आइतबार युएइ पराजित हुनुपर्ने थियो । नेपालले आफ्नो अन्तिम खेलमा चीनलाई ५० रनले हराएको छ । 

१ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अल आउट गर्दै नेपाल विजयी भएको हो । नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३ तथा सरिता राना मगरले २ र करुणा भण्डारीले एक विकेट लिए । थाइल्याण्डको बैंककमा पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । चीनका हान लीले १५ र सी जोउले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Write a Comment