अन्नपूर्ण पर्यटन महोत्सवमा क्लबस्तरीय बास्केटबल
27-December-2017


जकसन डटकम
पोखरा, १३ पुस

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण अन्तर्गत छोम्रोङमा गरिएको ल्होसार मेलामा बुधबार क्लबस्तरीय बास्केटबल प्रतियोगिताका लिग चरणका खेल सम्पन्न भएका छन् । बिहीबारदेखि नकआउट चरणका खेल हुनेछन् । प्रतियोगितामा कास्की, पर्वत र काठमाडौंका ८ टिम सहभागी छन् । प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैया“ प्राप्त गर्नेछन् ।

लिग चरण भएको पहिलो खेल रोंधी क्लब घान्द्रुक बी र ताङतिङ युवा क्लबबीचको प्रतिस्पर्धामा ६४ स्कोरका साथ ताङतिङ युवा क्लब विजयी भएको छ । रोधी क्लब घान्द्रुक बी ले २६ स्कोर पाएको थियो । ताङतिङ युवा क्लबका जर्सी नं. ८ धन गुरुङले सबैभन्दा बढी १६ स्कोर दिलाएका थिए । 

त्यस्तै उल्लेरी युवा क्लब दाङसिङ र सेन्चुरी युवा क्लब, छोम्रोङ ए बीच भएको दोस्रो खेलमा २९ का विरुद्ध ३३ स्कोरले उल्लेरी युवा क्लब विजयी भएको छ । यस खेलमा उल्लेरी युवा क्लबका जर्सी नं. ७ का थम पुनले सबैभन्दा बढी २० स्कोर दिलाएका थिए । त्यसैगरी रोंधी क्लब घान्द्रुक ए र विशाल मिलन केन्द्र (बीएमके) बीच भएको प्रतिस्पर्धामा २८ स्कोरका विरुद्ध ६५ स्कोरका साथ बिशाल मिलन केन्द्र विजयी भयो । यस खेलामा बीएमकेका जर्सी नं. १५ का विवेक श्रेष्ठले सबैभन्दा बढी १५ स्कोर दिलाएका थिए । 

त्यसैगरी हिमशिखर युवा क्लब, पर्वत र सेन्चुरी युवा क्लब, छोम्रोङ बी बीचको प्रतिस्पर्धामा ४५ स्कोरका विरुद्ध ४८ स्कोरले सेन्चुरी युवा क्लब, छोम्रोङ विजयी भयो । यस खेलमा सेन्चुरीका जर्सी नं. २३ का पुजन गुरुङले १४ स्कोर दिलाएका थिए ।  त्यस्तै पाँचौ खेलामा ताङतिङ युवा क्लब र सेन्चुरी युवा क्लब, छोम्रोङ ए बीचको खेलमा २७ का विरुद्ध ७८ स्कोरले ताङतिङ युवा क्लब विजयी भयो । यस खेलामा ताङतिङ युवा क्लबका जर्सी नं. ८ का धन गुरुङले सबैभन्दा बढी २० स्कोर दिलाएका थिए । 

त्यस्तै छठौं खेल उल्लेरी युवा क्लब र रोंधी क्लब घान्द्रुक ए बीचको खेलमा २७ का विरुद्ध ३६ स्कोरले उल्लेरी युवा क्लब विजयी भएको छ । यस खेलमा उल्लेरीका जर्सी नं. ७ का थम पुनले सर्वाधिक १४ स्कोर गर्न सफल भएका थिए । 

त्यसैगरी बिशाल मिलन केन्द्र र हिमशिखर युवा क्बलबीचको अन्तिम खेलमा ५४ का विरुद्ध ६८ स्कोरले बिशाल मिलन केन्द्र, काठमाडौं विजयी भयो । यसखेलमा बिशाल मिलन केन्द्रका जर्सी नं. ९ का विकास गुरुङले सर्वाधिक २८ स्कोर दिलाएका थिए ।   

Events
Random Picks