पीसीसी क्रिकेट कपमा अरण्यज्योति र राइजिङ विजयी
7-February-2018


जकसन डटकम
पोखरा, २५ माघ

रु दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तर क्लब क्रिकेट कप २०७४ मा सेमिफाईनल समिकरण पूरा भएको छ । क्वार्टरफाइनल अन्तर्गत दोस्रो दिनको खेलमा अरण्यज्योति क्रिकेट क्लब र राईजिङ क्रिकेट एकेडेमी विजयी बने । पोखरा क्रिकेट क्लब (पिसीसी) को आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी खेलमा अरण्यज्योतिले आयोजक जुनियर टोली पोखरा क्रिकेट एकेडेमीलाई चार विकेटले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ रोजेको पीसीएले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा ११७ रनको योगफल तयार पा¥यो । सन्तोष न्यौपानेले ७० रन जोडेपछि एकेडेमीले सन्तोषजनक स्कोर बनायो । विष्णु कुँवरले पनि नौ बलमा १६ रनको योगदान दिँदा नटआउट रहे । देव शाहले ४ रन मात्र जोड्न सके । अरण्यज्योतिका प्रज्वल दाहालले  दुई विकेट लिन २४ रन खर्चिए । अब्दुल खालिकले पनि एक विकेट लिनको लागि चार ओभर फालेर ११ रन दिए । कप्तान विधान श्रेष्ठ ८ रनदिदैं १ ओभरमा एक विकेट लिन सफल भए । 
११८ रनको लक्ष्य पछ्याएको अरण्यज्योतिले ६ विकेटको क्षतिमा मात्र एक बल बाँकी रहँदा लक्ष्य भेट्टायो । अन्त्यमा निकै रोमाञ्चक बनेको खेलमा कप्तान विधानको अर्धशतकमा अरण्यज्योति सेमिफाईनलमा पुगेको हो । कप्तान विधान श्रेष्ठले ५० बलमा ६२ रन बनाएपछि जितको आधार तयार भएको थियो । म्यान अफ दि म्याच विधान श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग उपनिर्देशक बलराम क्षत्रीले पुरस्कार प्रदान गरेका थिए । पोखरा एकेडेमीका लागि अर्जुन बुढाथोकी २ विकेट, विजय राउत र सुबास खत्रीले १—१ विकेट लिए

बुधबारको दोस्रो खेलमा राईजिङ क्रिकेट एकेडेमीले बौद्ध क्रिकेट क्लब म्याग्दीलाई ५६ रनले हरायो । बुद्धले टस जितेपछि ब्याटिङको निम्तो पाएको राईजिङ क्रिकेटले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १५२ रन जोड्यो । उसका लागि अमृत गुरुङले ३७, अर्जुन श्रेष्ठले २५, दिपेश खत्रीले २२ रन जोडे । बौद्धका विनय घर्तीमगरले २ विकेट र अशोक कार्की तथा सतिश बरुवाले १÷१ विकेट लिए । 

१५३ रनको लक्ष्य पछ्याएको बौद्ध ९६ रनमै अलआउट भयो । २० ओभर खेलेको उसका लागि ऋतिक थापाले ३६ रन जोडे । विनय घर्तीमगरको नाममा १८ रन र अनुप बानियाँले नौ रनको योगदान दिएपनि जितका लागि पर्याप्त बनेन । राईजिङका राजु गुरुङ र दिपेश खत्रीले २÷२ विकेट, अमृत गुरुङले  १ विकेट लिए । म्यान अफ दि म्याच राईजिङ क्रिकेट एकेडेमीका अमृत गुरुङ भए ।

अब फाइनल प्रवेशका लागि विहीबार आयोजक पोखरा क्रिकेट क्लब र सांग्रिला क्रिकेट क्लब, पोखराबीच बिहान ८ बजेपछि पहिलो खेल हुनेछ । दोस्रो खेलमा समूह बीका विजेता यी दुई टीम अरण्यज्योति र राईजिङ पूर्वान्ह ११ बजेपछि खेल्नेछन् । 

पहिलो दिनको खेलमा आयोजक पिसीसीले खबरा क्रिकेट क्लब बेनीलाई १८२ रनले पराजित गरेको हो भने दोस्रो खेलमा पोखराको सांग्रिला क्रिकेट क्रिकेट क्लबले धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ४४ रनले पराजित ग¥यो । योसँगै पाहुना टोली सबै बाहिरिएका छन् ।

माघ २७ गते फाइनल खेल हुने प्रतियोगिता संयोजक क्लबका उपाध्यक्ष उत्सव शाक्यले बताए ।  विजेता टीमले नगद ४० हजार, उपविजेताले २० हजार साथमा नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्टलाई समेत पुरस्कृत गरिने अध्यक्ष निकेश श्रेष्ठले जनाए । 

Write a Comment