डिभिजन टुमा नेपाल र क्यानडा भिड्दै, नेपाललाई जित्नैपर्ने दबाव
13-February-2018


जकसन डटकम
काठमाडौं, ०२ फागुन

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानडाबीच आज प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोट खेल खेल्नका लागि नेपाललाई जित्नैपर्ने दबाव छ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग अप्रत्यासित हार व्यहोर्न पुग्यो । 

तेस्रो खेलमा यूएईलाई हराएपछि विश्पकप छनोटको सम्भावना कायमै छ तर, क्यानडालाई हराउनु अनिवार्य भएको छ । अहिले अंंक तालिकाको शीर्ष तीन टिमको समान ६÷६ अंक छ भने यूएईको चार अंक छ । आज नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले यूएईको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । हारले भने लगभग बाहिरिनेछ । एउटा अवस्थामा मात्र नेट रनरेट हेर्नु पर्ने हुन्छ । 

यदि नेपाल क्यानडासँग र्हायो र यूएईले नामिबियाले हरायो भने तीन टोलीको समान ६÷६ अंक हुनेछ र नेट रन रेटका आधारमा नेपाल, नामिबिया र यूएईमध्ये एक टिमले फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउनेछ । तर, तीन वटै खेलमा झिनो अन्तरले जितेको नेपालको रनरेट सबैभन्दा कम छ । यस्तो अवस्थामा नेपाललाई नेट रनरेटले साथ नदिनसक्छ । त्यसैले ढुक्कसँग विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई नहराई सुख्खै छैन ।

Write a Comment

Events
Random Picks