विश्वकप छनोटमा नेपाललाई आठौं स्थान, नेदरल्याण्ड्ससँग ४५ रनले पराजित
17-March-2018

जक्सन डट कम 
चैत्र ३, पोखरा ।

विश्वकप छनोटमा नेपालले आठौं स्थान प्राप्त गरेको छ। नेदरल्याण्ड्सविरुद्ध बिहीबार सम्पन्न खेलमा ४५ रनले पराजित भएसँगै नेपाल सो स्थानमा सीमित भएको हो। नेदरल्याण्ड्स सातौं भयो।

नेदरल्याण्ड्सले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले ४४‍.४ ओभरमा सवै विकेट गुमाएर १ सय ४४ रनमात्रै बनाउन सक्यो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन जोडे। ५३ बलको सामना गरेका सोमपालले ३ चौका र १ छक्का प्रहार गरेका थिए। 

यस्तै, दीपेन्द्रसिंह ऐरीले २५, पारस खड्काले २२, सन्दीप लामिछानेले १४ तथा  करण केसीले १३ रन जोडे। नेदरल्याण्ड्सका रिभान डेर मार्वेले ४ तथा फ्रेड्रिक कलासेन र पिटर सेलरले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेदरल्याण्ड्सले निर्धारित ५० अोभरमा ९ विकेट गुमाउदै १ सय ८९ रन बनाएको थियो। उसका बस डी लिडीले सर्वाधिक ३९ रन जोडे। ९१ बलको सामना गरेका उनले ४ चौका प्रहार गरेका थिए। यस्तै, उसका म्याक्सवेल डोउडले २८ तथा रोइलोभ मार्वे र स्कट इडवार्डले समान २५-२५ रन जोडेका थिए।

नेदरल्याण्ड्सलार्इ सो स्कोरमा रोक्न नेपालका सोमपाल कामीले ४ विकेट लिएका छन्। योसँगै लिस्ट ए क्रिकेटमा ५० विकेट लिने सोमपाल पहिलो नेपाली खेलाडी बने। सोमपालसँगै सन्दीप लामिछाने र ललितनारायण राजबंशीले पनि समान २-२ विकेट लिए। नेपाल र नेदरल्याण्ड्स दुवैले यसअघि नै एकदिवसीय मान्यता पाइसकेका छन्।

Write a Comment