थाईल्यान्डको गुफामा फसेका १३ जनाको उद्धारमा खटिएका गोताखोरको मृत्यु
7-July-2018


जक्सन डटकम
पोखरा, असार २३
थाईल्यान्डको गुफामा फसेका १२ किशोर र एक फुटबल प्रशिक्षकको उद्धारमा खटिएका एक गोताखोरको मृत्यु भएको छ।
सरकारी अधिकारीहरूका अनुसार समन गुनन नामका ३८ वर्षीय गोताखोरको गुफामा फसेकाहरूलाई अक्सिजन सिलिन्डर पुर्याएर फर्किने क्रममा मृत्यु भएको हो। गुफाबाट फर्कने क्रममा अक्सिजन कमी भएर बेहोस भएका उनलाई बचाउन नसकिएको बताइएको छ। उनी जलसेनाका पूर्व गोताखोर थिए। जागिर छाडेपनि बचाउ अभियानमा सहभागी हुन आएका थिए।
एघारदेखि १६ वर्ष उमेरका किशोरहरू आफ्ना २५ वर्षीय प्रशिक्षकसँग जुन २३ मा उक्त गुफा घुम्न गएका थिए। त्योबेला त्यहाँ पानी थिएन, उनीहरू सरासर भित्र छिरे। भित्र गएपछि अकस्मात वर्षाका कारण गुफामा बाढी पसेपछि उनीहरू त्यहीँ फसेका हुन्।
तीव्र खोजीकार्यपछि नवौं दिन गुफाको मूलद्वारबाट करिब ४ किलोमिटर पर उनीहरू भेटिएका हुन्। पानी सतहभन्दा अलिमाथि चट्टानमा बसिरहेको अवस्थामा जलसेनाको टोलीले उनीहरूलाई फेला पारेका थिए।
गुफाबाट अहिले नै उनीहरूलाई बाहिर निकाल्ने अवस्था छैन।
गुफाभित्र पानीको भेल भएकाले उपाय खोजिँदैछ। खोजमा संलग्न थाई जलसेनाका अनुसार उनीहरूले बाहिर निस्किन कुशल तरिकामा पौडी खेल्न जान्नुपर्नेछ। नभए, पानीको सतह घट्ने दिन कुर्नुपर्नेछ। यो भनेको करिब चार महिना नै हुनसक्छ।
पानीको सतह थप बढिरहेको र उनीहरूको सुरक्षा निम्ति आवश्यक सामान पुर्याउने प्रयास पनि भइरहेको छ।उनीहरूका निम्ति खानापिन र औषधि व्यवस्था गरिएको छ। शारीरिक रूपमा तन्दुरुस्त भएपछि उनीहरूलाई पौडी खेल्न सिकाउने योजना छ। वर्षायाम भएकाले तत्काल गुफामा पानीको तह घट्ने सम्भावना छैन।
त्यस्तै चट्टानबीचका अँध्यारा–साँघुरा गल्ली हुँदै हिलाम्मे पानीबाट उनीहरूलाई निकाल्न निकै चुनौती छ। यसकारण कुनै उपकरणमार्फत् पानी फ्याँकेर कम गर्ने उपाय पनि खोजिँदैछ।
गुफाको प्रवेशद्वारबाट किशोरहरूको समूह भएको ठाउँसम्म पुग्न छ घन्टा र फर्किन पाँच घन्टा लाग्छ।उनीहरूलाई सरसामान उपलब्ध गराउने क्रममा गुननले ज्यान गुमाएपछि परिस्थति थप चिन्ताजनक भएको छ।
बिबिसीबाट

 

Write a Comment

Events
Random Picks