भ्रष्टाचारको आरोप लागेका दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल
12-October-2018


जक्सन डटकम
सोल,असोज २६ 
दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ–बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गरेका छन् । 

उनलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्यस फैसलाविरुद्ध पूर्वराष्ट्रपति बाकले शुक्रबार अपिल गरेको उनका अधिवक्ताले जानकारी दिएका छन् । उनलाई एउटा घुसकाण्डमा दोषी ठहर गरी अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो । उनी देशको उच्चपदस्थहरुमध्ये जेल पर्ने पछिल्लो व्यक्तित्वका रुपमा रहेको प्राप्त समाचारहरुमा जनाइएको छ । 

अनुसन्धानका क्रममा पूर्वराष्ट्रपति बाकलाई एउटा अटोपार्ट कम्पनीमा लगानी रहेको पाइएको थियो । तर उनले सो कम्पनी आफ्नो नभएर भाइको रहेको दाबी गर्दै आएका थिए । सोही कम्पनीसँग सम्बन्धित कार्यमा उनले करीब २४ अर्ब वन (कोरियाली पैसा) अपचलन गरेको ठहर उक्त अदालतले गरेको थियो । 

उनले आफूमाथि अन्याय भएको भन्दै सो कारवाहीविरुद्ध अदालतसमक्ष अपिल गरेको उनका अधिवक्ताले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ । (रासस)

Write a Comment

Events
Random Picks