ताइवानमा भूकम्पको धक्का
23-October-2018

जक्सन डटकम
ताइपेइ, कात्तिक ६  

ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो ।

सर्भेका अनुसार मङ्गलबार अपराह्न १२ बजेर ३४ मिनेटमा गएको उक्त भूकम्पको केन्द्र जमिनको सतहबाट ३४ किमी तल रहेको छ ।

भूकम्पबाट तत्काल कुनै हताहती वा क्षतिको विवरण प्राप्त भएको छैन । ताइवानको केन्द्रीय मौसम विज्ञान विभागले भने उक्त भूकम्प ६ रेक्टर स्केलको रहेको जनाएको छ ।

स्थानीय सञ्चार माध्यमले भूकम्पको धक्का पूरै ताइवानमा अनुभव गरिएको बताएका छन् । 

यसै वर्षको फेब्रुअरीमा समेत हुवालीनमा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसबखत १७ जनाको मृत्यु भएको थियो ।

ताइवान पनि भूकम्पीय जोखिममा रहेको स्थान हो । सन् १९९९ को सेप्टेम्बरमा गएको ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण करिब २ हजार ४०० को मृत्यु भएको थियो । (रासस/एएफपी)

Write a Comment

Events
Random Picks