ब्राजिलको दूतावास जेरुसेलममा सार्ने बोल्सोनारोको योजना
2-November-2018

जक्सन डटकम
ब्रासिलिया, ब्राजिल,कात्तिक १६  

ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले इजरायलको तेल अभिभमा रहेको आफ्नो मुलुकको राजदूतावास जेरुसेलम सारिने बताउनुभएको छ ।

“इजरायल सार्वभौम मुलुक हो । यदि उनीहरुले राजधानी सहर जेरुसेलमलाई मान्छन् भने हामीले त्यही अनुरुप कार्य गर्नु पर्दछ । चुनावताका मेरो प्रतिबद्धता त्यही थियो, र आज पनि छ,” बोल्सोनारोले इजरायल हालोमलाई दिएको अन्तर्वार्तामा बताउनुभएको छ ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिनुका साथै तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसेलम सारिएको थियो । अमेरिकी कदम लगत्तै प्यालेस्टिनी अधिकारीहरुले अमेरिकासँगको सहकार्य स्थगित गरेका छन् ।

जेरुसेलम विवादित सहर हो जसलाई प्यालेस्टिनीहरुले पूर्वी जेरुसेलम मान्दछन् । यो सहरलाई १९६७ को अरब–इजरायल युद्धका क्रममा इजरायलले कब्जा गरेको थियो । प्यालेस्टिनीहरुले स्वतन्त्र प्यालेस्टाइनको भावी राजधानीका रुपमा जेरुसेलमलाई लिने गरेका छन् ।

ग्वाटेमाला र पाराग्वेले पनि अमेरिकी कदमको सिको गर्दै तेल अभिभबाट आफ्ना मुलुकका राजदूतावास जेरुसेलम ल्याउने घोषणा गरेका थिए । तर पाराग्वेले हाल उक्त निर्णय फिर्ता लिएको छ । धेरै मुलुकले आफ्ना दूतावासहरु जेरुसेलम स्थानान्तरण गर्ने योजना बनाउन थालेको बताइएको छ ।

ब्राजिल र इजरायलबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहे पनि पछिल्लो समयमा दुई देशबीचको सम्बन्धमा तनाव आएको छ । सन् २०१४ मा इजरायलले गाजा क्षेत्रमा जथाभावी गरेको सशस्त्र कारबाहीलाई ब्राजिलले विरोध गरेको थियो । त्यसबखत इजरायली विदेश मन्त्रालयले ब्राजिललाई असान्दर्भिक कुटनीतिक साझेदारको संज्ञा दिएको थियो ।

आगामी जनवरी १ देखि ब्राजिलको राष्ट्रपति पदमा औपचारिक पदबहाली गर्ने बोल्सोनारोले इजरायलसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको छ । 

ब्राजिलको राष्ट्रपतिमा रहँदा लुइज इनासियो लुला डी सिल्भाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुभएको थियो । तर नवनिर्वाचित राष्ट्रपति बोल्सोनारोले उक्त नीतिमा परिवर्तन ल्याउने सङ्केत गर्नुभएको छ ।(रासस/एएनआई)

Write a Comment