एक वर्षमा मलेसियामा रहेका ४३ कामदारले गरे आत्महत्या
21-December-2018


जक्सन डटकम
मलेसिया, पुस ६

रोजगारीका लागि मलेसियामा रहेका नेपाली कामदारको दैनिकी प्रतिकूल बन्दै गएको छ । काम र सेवा–सुविधामा मात्र जीवनप्रति नै निरास हुनेको संख्या पनि कम छैन । दैनिक एक जना नेपाली कामदारले ज्यान गुमाउने मलेसियामा उनीहरुको आत्महत्या दर पनि निकै डरलाग्दो छ ।

भनिएअनुसारको काम मात्र होइन सेवा–सुविधा पनि नपाउने मलेसियामा रहेका नेपाली कामदार शारीरिक तथा मानसिक यातनासमेत खेप्न बाध्य छन् । जसले ढिलो–चाँडो जीवनप्रति नै वितृष्णा जगाउँछ । कालगति र दुर्घटनाबाहेक यहाँ नेपालीको ज्यान हुने तेस्रो कारण हो, आत्महत्या ।

मलेसियास्थित नेपाली दूतावासको तथ्यांकअनुसार सन् २०१८ को हालसम्म ३ सय २२ नेपालीको मृत्यु भएकामध्ये ४३ जनाले आत्महत्या गरेका हुन् । दैनिक दुईसय हाराहारी कामदारले दूतावासमा गुनासो गर्छन । अधिकांशले तोकिए बमोजिमको काम र तलव नपाएको तथा बैदेशिक रोजगार व्यवसायीले बिचल्ली बनाएको भन्दै नेपाल फर्कने वातावरण बनाइदिन अनुरोध गर्छन । दूतावासले समयमै गुनासो सम्बोधन नगर्ने, प्रक्रिया झन्झटिलो हुने र नेपालको आग्रह वेवास्ता गर्ने प्रबृत्तिले पनि नेपाली कामदार समस्यामा छन् ।

पछिल्लो तथ्यांकअनुसार मलेसियामा ३ लाख ८३ हजार नेपाली कामदार छन । प्रवेशाज्ञाको मिति सकिएर लुकेर काम गर्नेको संख्या पनि एक लाख हाराहारी रहेको अनुमान छ । पूर्वाधार र जनशक्ति अभावसहित मलेसियाको कानून बुझेको दक्ष स्थानीय कर्मचारी नहुँदा पनि सबैको समस्या समाधानमा प्रभावकारी हुन नसकिएको दूतावासको भनाइ छ ।

नेपालीको मुख्य गन्तब्य मलेसियाको रोजगारी व्यवस्थित गर्न नेपाल र मलेसिया सरकारबीच हालै श्रम सम्झौता भएको छ । तर, सम्झौता कार्यान्वयन नहुँदा कामदार मलेसिया आउन पाएका छैनन ।

 

Write a Comment

Events
Random Picks