टाइम म्यागेजिनका अनुसार २०१८ को विश्वको सबैभन्दा शक्तिशाली फोटो
27-December-2018

–टाइम, टवाक्कोल करम्यान

साना, टेइज, हुदेदाह र यमनको जताजतै पूरै परिवारहरू भग्नावशेषमा पुरिएको अवस्थामा छन् । त्यहाँका प्रत्येक घरबाट बालबालिकाहरूले पीडामा निकालेको आवाज निस्कन्छ । तर बाँकी विश्वलाई यसको कुनै भेउसमेत थिएन । 

तर ७ वर्षे अमल हुसेनको एक तस्बिरले यो अवस्थामा केही मात्रामा परिवर्तन ल्यायो । यो फोटोले एकदम सटिकताका साथ यमनको अवस्थालाई चित्रित गर्छ । 

अमलको तस्बिर त्यो द्वन्द्वको अनुहार बनेको छ, जसले विगत चार वर्षमा यमनको एउटा पूरै पुस्ताको बालबालिकाहरूको भविष्यमाथि प्रश्न खडा गरिदिएको छ । 

अक्टोबर २६ मा न्युयोर्क टाइम्समा प्रकाशित भएको केही दिनमै अमलको तस्बिरले विश्वको करोडौँ मानिसहरूको ध्यान तान्यो । चार वर्षको युद्धले निम्त्याएको भोकमरी, बमवर्षा, बारुदी सुरुङ र रोकथाम गर्न सकिने रोगको माहामारीले गर्दा लाखौँ यमनी बालबालिकाहरू शरदको सुकेका पातजस्तै भएका छन् । अमल तिनै लाखौँ बालबालिकामध्ये एक हुन् । 

अन्तर्राष्ट्रिय समुदाय यो प्रकरणका लागि पूर्ण जिम्मेवार छ । तर पनि ऊ यसप्रति बेवास्ता गरिरहेको छ । यो किन भइरहेको छ त ? किनकि यमन प्रयाप्त तेल उत्पादन गर्ने राष्ट्र होइन । त्यही कारणले यो द्वन्द्व बाँकी विश्वका लागि ध्यान दिन लायकको समेत भएन । तर यो बेवास्ता र अकर्मण्यताले द्वन्द्वलाई आगोमा घ्युको जस्तो काम ग¥यो । 

बालबालिकाहरूले इरानी प्रभाव के हो बुझ्दैनन्, न त उनीहरू तेल–सम्पन्न साउदी अरब र यूएईसले अमेरिका र अन्य सम्पन्न राष्ट्रसँग गरेको हतियार सम्झौता नै बुझ्छन् । अरबी राष्ट्रहरूमा सबैभन्दा सम्पन्नमध्येका दुई राष्ट्रले ठूलो रकमको हतियार सम्झौतालाई अन्तर्राष्ट्रिय समुदायको मौनता किनेको बुझेका छन् ।  

यो फोटो खिचिएको केहीपछि नै अमलको कुपोषणको कारण मृत्यु भयो । अमलको मृत्युले आधारभूत मूल्यको अभावमाथि प्रकाश पारेको छ । साउदी अरब, यूएई र हुथी मिलिसिया द्वन्द्वको प्रत्यक्ष हिस्सेदार हुन् । यी प्रत्येकले उनको मृत्यु लगत्तै आफूहरूको त्यसमा कुनै भूमिका नभएको भनेर वक्तव्य निकाले । यी युद्ध अपराधीहरूले एक अर्कोलाई दोष दिएर आफू पन्छिन खोजे ।

म एक यमनी भएकाले यो देशका प्रत्येक घर र मनमा कायम व्यथासँग राम्ररी परिचित छु । मैले सशस्त्र मिलिसियाले पूरै सहरलाई बन्दी बनाएको देखेको छु । यमनजस्तो गरिब देशलाई तेल–सम्पन्न राष्ट्रहरूको गठबन्धनले हवाई फौजले ध्वस्त गर्दा कस्तो हुन्छ, मैले राम्ररी भोगेको छु । यमन हाल गरिब भए पनि ऊ प्राचीन इतिहाससम्म आफ्नो सभ्यताको जरो भएको देश हो । यस कारणले विगतमा उसको उच्च सम्मान थियो । 

युद्धले जीवन एकदम क्षतविच्छद बनाइएका यमनका बालबालिकाहरू र दशौँ लाख नागरिकहरूलाई एउटा यस्तो वास्तविक शान्तिको चाह गर्ने अधिकार छ, जसले उनीहरूको हालको पीडालाई अन्त्य गर्न सकोस् । उनीहरूलाई एक दिन आफ्नो राज्य पुनरस्थापित हुनेछ भनेर आसा गर्ने अधिकार छ, जहाँ उनीहरूले सुरक्षा र स्थिरताबीच आफ्नो जीवन सुचारु गर्न सकून् । 

यमनका बालबालिकाहरूलाई भयरहित वातावरणमा विद्यालयमा पढ्न पाउने र आफ्ना अभिभावकको आँखामा हेर्दा वियोग, अभाव, भय र असहायता नहुने अवस्थाको अधिकार छ । 

अमलको तस्बिरले अन्त्य नहुने जस्तोगरी अघि बढिरहेको युद्धको बाटोमा एउटा ऐतिहासिक क्षणको प्रतिनिधित्व गर्छ । अमलको मृत्यु भएपछि मानिसहरूको अन्तःस्करणमा धक्का परेको कुराले ती युद्ध अपराधीमाथि प्रतिबन्धको आशा बढेर गएको छ । प्रतिबन्ध लगाइँदा अपराधीहरूको आर्थिक सामाजिक हैसियत नहेरियोस् । 

युद्ध अपराधीहरूलाई अन्तर्राष्ट्रियता उत्तरदायित्वबाट उम्कन दिनु हुँदैन । यदि उनीहरू भागे भने दशौँ लाख अरू अमलहरू कलिलै उमेरमा चितामा पुग्नेछन् । 

(लेखक करम्यान सन् २०११ को नोबेल शान्ति पुरस्कार विजेता हुन् । यमनी पत्रकार तथा मानव अधिकार अधिवक्ता करम्यानले अरब वसन्तको समर्थन गरेकी थिइन् । उनी यमनमा जारी गृहयुद्धका दुवै पक्षको कटु आलोचक हुन् ।)

Write a Comment

Events
Random Picks