अफगानिस्तान : शान्तिको आशाबीच तालिबानीको चेतावनी
13-April-2019


जक्सन डटकम
काठमाडौं,  चैत ३०

पाँच दशकभन्दा लामो समयदेखि हिंसाको चपेटामा रुमलिएको अफगानिस्तानमा सङ्घर्षरत मुख्य लडाकू समूह तालिबानले फेरि सशस्त्र सङ्घर्षलाई तीव्र बनाउने गत शुक्रबार घोषणा गरेको छ । तालिबानले जारी गरेको पछिल्लो वक्तव्यमा विदेशी फौज अफगानिस्तानमा रहेसम्म सशस्त्र सङ्घर्ष गर्न आफ्ना लडाकूलाई आदेश दिइएको छ ।

अफगानिस्तानको बाघ्रामस्थित अमेरिकी हवाई अखडामा आत्मघाती बम आक्रमण गरी तीन अमेरिकी सैनिक सहित पाँच जनाको हत्या गरेको एक साता नबित्दै तालिबानले यस्तो वक्तव्य दिएको हो । अफगान शान्ति प्रक्रियाका बारेमा अमेरिकी पहलमा तालिबानसँग प्रत्यक्ष वार्ता भइरहेकै समयमा अमेरिकी सेनामाथि आक्रमण भएको छ । 

चुनाव भयो, नतिजा आएन  
गत वर्ष अक्टोबर २० मा संसदका लागि निर्वाचन भयो । हिंसा, आतङ्क, त्रास र असुरक्षाबीच ४० लाखभन्दा बढी मतदाताले चुनावमा भाग लिए तर गत वर्ष डिसेम्बरमै घोषणा हुनुपर्ने चुनावी परिणाम छ महिना बितिसक्दा पनि कुनै अत्तोपत्तो छैन । दुईवटा प्रान्त कान्दाहार र गाज्नीसमेतका कतिपय स्थानमा चुनाव नै हुन सकेको थिएन भने राजधानी काबुलमा चुनावमा व्यापक धाँधली भएको भन्दै सयौं उजूरी दर्ता भएका थिए ।

अफगानिस्तान सरकार र त्यहाँ तैनाथ विदेशी सेनाका विरुद्धमा सशस्त्र छापामार युद्ध गरिरहेका अफगानी तालिबान समूह, हक्कानी नेटवर्क र इस्लामिक स्टेट्ससमेतका दर्जनौं लडाकू समूहले चुनाव बहिस्कार गरेका थिए ।  अफगानिस्तान सरकारले यसपटक आफ्नै बलबुतामा चुनाव गराएको बताएको थियो । र चुनावमा करिब ४५ प्रतिशतले आफ्नो ज्यान जोखिममा राखेर मतदान पनि गरेका थिए ।

निर्वाचन आयोगका अनुसार राजधानी काबुल बाहेक अन्यत्र ज्यादै कम मतदान भएको थियो । शान्तिका मुख्य बाधक पक्षहरु नै चुनावमा सहभागी नभएको अवस्थामा जनतामा चुनावप्रति उत्साह होइन, निराशा छाएको थियो । 

चुनावकै दिनपनि १७० भन्दा बढी निर्दोष नागरिकको ज्यान जानुका साथै सुरक्षाफौजको ठूलो क्षति भएको थियो । अझ, चुनाव हुनुअघि १० जना उम्मेदवार मारिएका थिए । कान्दाहारमा सुरक्षा व्यवस्थाका बारेमा समीक्षा गर्न आयोजित उच्च सुरक्षा अधिकारीको बैठकमै एकजना अफगान सुरक्षागार्डले चलाएको गोली लागेर कान्दाहारका प्रहरी प्रमुख अब्दुल रजिकको हत्या भएको थियो । चुनावमा ९० लाख मतदाताले नाम दर्ता गराएका थिए । यसअघि अफगानिस्तानमा पछिल्लो संसदीय चुनाव सन् २०१० सेप्टेम्बरमा भएको थियो ।

अमेरिकी पहलमा वार्ता
अमेरिकी ट्रम्प प्रशासनले समय, ऊर्जा, रकम र धेरैको ज्यान गुमाइसकेको अफगानिस्तान मामिलाबाट फिर्ता हुन चाहेको पटकपटक बताइसकेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती र शान्ति स्थापनाको पहल गर्न अमेरिकी वरिष्ट कुटनीतिक अधिकारी जाल्मे खलिलजादलाई विशेषदूतका रुपमा नियुक्त गर्नुभएको छ ।

पाकिस्तान, अफगानिस्तान मामिलामा दख्खल राख्नुहुने खलिलजादले अफगानिस्तानमा सङ्घर्षरत तालिबानी समूहसँग कतारमा प्रत्यक्ष वार्ता शुरु गर्नुभएको छ । यी वार्तामा खासगरी उहाँले तालिबान समूहलाई युद्धबिराम गर्न र काबुल सरकारसँग पनि वार्ता गर्न आग्रह गर्नुभएको छ । 

मुलुकको करिब ५५ प्रतिशत भूभाग कब्जा जमाइसकेको तालिबान समूह काबुल सरकारसँग वार्ता गर्न अझै तयार देखिएको छैन । तालिबानले काबुल सरकारलाई “अमेरिकी कठपुतली सरकार”को संज्ञा दिने गरेको छ । अमेरिकासँगै प्रत्यक्ष वार्ता गर्ने एकमात्र अजेन्डाबाट तालिबान समूह टसमस भएको छैन । तालिबान समूहसँग भइरहेको वार्तामा के कस्तो सहमतिको प्रयास भइरहेको छ भन्ने बारेमा दुबै पक्षले विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । -रासस

Write a Comment