क्यामरुन र मोदीको वक्तव्यमा नेपालको नाम किन ? पाकिस्तान, श्रीलंकादेखि सिरियासम्म चर्चा
15-November-2015

 

२९ कात्तिक, काठमाडौं ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त वक्तव्यमा नेपालको समेत चर्चा गरिएको विषयले यहाँको मिडियामा चर्चा पाएको छ । तर, बेलायत र भारतका सरकार प्रमुखहरुले आफ्नो वक्तव्यमा नेपालको मात्रै चर्चा गरेका छैनन्, पाकिस्तानदेखि सिरियासम्म नाम लिएका छन् ।

David Camron and Nodi / jukson.com

बेलायत र भारतका प्रधानमन्त्रीले जारी गरेको वक्तव्यमा नेपालको चर्चा हुनुलाई कतिपयले बेलायत भ्रमणमा मोदीविरुद्ध नेपालीले गरेको प्रदर्शनलाई कारण मानेका छन् । र, यसले नेपालको मामिलामा भारत र बेलायत एक मुख भएको संकेत गरेको भन्दै नेपालमा चासो बढेको छ ।

यही विषयलाई लिएर नेपालको मामिलामा बेलायतले भारतको नाकाबन्दीलाई समर्थन गरेको अर्थसमेत लगाउन थालिएको छ । जबकि नाकाबन्दीका विषयमा बेलायत र भारतले केही बोलेका छैनन् ।

त्यसो त नेपालीहरुले मोदीको बेलायत भ्रमणका बेला नेपालको नाकाबन्दी हटाउन आग्रह गरियोस् भन्ने पत्रसमेत बेलायती प्रधानमन्त्रीलाई बुझाएका थिए । पूर्वगोरखा सैनिकहरुले क्यामरनलाई त्यस्तो ज्ञापनपत्र बुझाएका थिए, जसको सम्बोधन बेलायतले गरेको देखिएन ।

अन्य देशको पनि चर्चा

भारतीय प्रधानमन्त्री मोदीको बेलायत भ्रमणका सिलसिलामा जारी गरिएको संयुक्त वक्तव्यमा विश्वका विभिन्न मुलुकको स्थितिबारे दुई देशले समान धारणा सार्वजनिक गरेका छन् । जसमा नेपालको संविधानले अन्य पक्ष (मधेसी) हरुको सरोकारलाई पनि समट्नुपर्ने र समावेशी हुनुपर्ने भन्दै भारत र बेलायत दुबै देश नेपालको संविधानले दीर्घकालीन राजनीतिक स्थायित्वको पक्षमा रहेको उल्लेख छ । साथै भूकम्पपछिको पुनर्निर्माणमा पनि बेलायत र भारतले जोड दिएका छन् ।

बेलायत र भारतलाई कुन-कुन देशको मतलब ?

क्यामरन र मोदीले जारी गरेको वक्तव्यमा ‘ग्लोबल पार्टनरशीप’ उपशीर्षकमा नेपाल लगायत विभिन्न देशहरुको चर्चा गरिएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा भारतलाई बेलायतले समर्थन जनाउने उल्लेख गर्दै एशिया तथा इण्डियन सागरमा स्थायित्वका लागि दुबै देशले साझा स्वार्थ रहेको बताएका छन् ।

मुम्बईमा भएको आतंकवादी हमलाका दोषीमाथि कारवाहीका लागि पाकिस्तानलाई आग्रह गर्ने समेत संयुक्त वक्तव्यमा उल्लेख छ ।

श्रीलंकाले राष्ट्र संघीय मानवअधिकार उच्चायोगको संकल्पलाई आत्मसाथ गर्नुपर्ने बेलायत र भारतले भनेका छन् ।

मालदिभ्सको स्थायित्व, समावेशी लोकतन्त्र र स्वतन्त्र न्यायालयमा जोड दिने दुई देशमा प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख छ

त्यस्तै अफगानिस्तानको सार्वभौम, लोकतान्त्रिक तथा एकीकृत भविश्यको कामना वक्तव्यमा गरिएको छ ।

भारत र बेलायतका प्रधानमन्त्रीले सिरिया र इराकमा समावेशी राजनीतिक व्यवस्थापनमा जोड दिने बताएका छन् । पश्चिम एशिया र मध्यपूर्वको विषयमा निरन्तर सम्वादमा रहने भारतीय र बेलायती प्रधानमन्त्री सहमत भएको जनाइएको छ ।

त्यस्तै दुई देशका प्रधानमन्त्रीले युक्रेनको संकटका बारेमा पनि बोलेका छन् ।

तर, दुई देशका प्रधानमन्त्रीले जारी गरेको वक्तव्यमा अन्य देशहरुका विषयमा यसरी चर्चा गर्नु कत्तिको शोभनीय होला ? कूटनीतिक मामिलामा यो एउटा बहसको विषय हुन सक्छ ।

 

 

source:onlinekhabar