अस्ट्रेलियन पत्रिकामा भारतको यसरी उडाइयो खिल्ली
15-December-2015

मेलबर्न, मंसिर २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणमा कीर्तिमान नै बनाउन थाले पनि अन्तर्राष्ट्रिय जगतमा भारतको छवि कस्तो छ भन्नेबारे एक अस्ट्रेलियन पत्रिकामा प्रकाशित कार्टुनले प्रष्ट पारेको छ ।

‘दि अस्ट्रेलियन’ दैनिक पत्रिकामा प्रकाशित कार्टुनमा भारतीय नागरिक भोकमरीबाट ग्रस्त भएको र सोलार प्यानल खाएर भोक टार्न खोजेको देखाइएको छ ।

पेरिसमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी सम्मेलन सकिएसँगै यस्तो कार्टुन प्रकाशित भएको हो । प्रख्यात कार्टुनिस्ट बिल लिकले तयार पारेको सो कार्टुनमा पगडी र धोती लगाएका केही भारतीयले संयुक्त राष्ट्रसंघद्वारा उपलब्ध गराइएको सोलार प्यानल खाने प्रयास गरिरहेको देखाइएको छ ।

भारतमा भोकमरी बढ्दै गएको तथा भारतीयलाई खानेकुरा बाहेक अरु बस्तुको चासो नभएको सन्देश सो कार्टुनमार्फत दिन खोजिएको छ । कार्टुनमा एक बृद्धले आँपको अचारसँग सोलार प्यानलको टुक्रा खाने कोसिस गरिरहेको देखिन्छ ।

यसअघि अमेरिकी अखबार न्यूयोर्क टाइम्सले पनि पेरिस जलवायु सम्मेलनमा भारतको भूमिकाबारे एक कार्टुन प्रकाशित गरेको थियो । सो कार्टुनमा भारतलाई हात्तीको रुपमा अंकित गर्दै ‘पेरिस जलवायु सम्मेलन’ को रेल अगाडी हात्ती तेर्सिएको देखाइएको थियो । (एजेन्सी)