विमानको इन्जिनमा चेपिएर कर्मचारीको मृत्यु
16-December-2015

मुम्बई, पुस २ । भारतको मुम्बईस्थित विमानस्थलमा विमानको इन्जिनमा फसेर एयर इन्डियाका एक कर्मचारीको मृत्यु भएको छ । मुम्बईबाट हैदरावादका लागि उडान भर्ने तयारीमा रहेको एयर इन्डियाको जेट विमान एआई ६१९ को इन्जिनमा फसेर विमानका प्राविधिक रवि सुब्रमण्यमको मृत्यु भएको हो ।

विमानका सहचालकले ‘सिग्नल’लाई गलत बुझेका कारण यो दुर्घटना भएको एयर इन्डियाले जनाएको छ । ‘पुस ब्याक’ सिग्नललाई सहचालकले इन्जिन स्टार्ट गर्ने सिग्नल मानेर इन्जिन चालु गर्दा सो दुर्घटना भएको एयर इन्डियाका अधिकारीले बताएका छन् ।

सहचालकले इन्जिन स्टार्ट गर्दा प्राविधिक सुब्रमण्यम विमानको नजिकै थिए । उनलाई इन्जिनले तानेपछि त्यसैमा फसेर उनको ज्यान गएको हो ।

इन्जिनमा फसेका कारण सुब्रमण्यमको शव क्षतविक्षत भएको छ । भारतको उड्ययन निर्देशनालय र एयर इन्डियाले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् । (एजेन्सी)

Events
Random Picks