फोक्सो प्रत्यारोपणको प्रतीक्षामा प्रशा
25-December-2015

दिनेशजंग शाह, न्युयोर्क

पुस ८, २०७२- चौबीसै घण्टा अक्सिजन ‘मास्क’ लगाउनुपर्ने । दैनिक ३० लिटरभन्दा बढी अक्सिजन चाहिने । पटक–पटक आकस्मिक उपचार कक्षमा भर्ना गर्नुपर्ने त सामान्य कुरो नै भयो । यो नियति एक वर्षदेखि चलिरहेको छ । उनको स्थितिले पहिलोपटक देख्नेलाई जो कोहीलाई सकस पार्छ । र, जिज्ञासा उठछ्, चुस्त र व्यवस्थित स्वास्थ्य सेवा मानिने अमेरिकामा पनि यस्तो ? २७ वर्षीया प्रशा तुलाधरले यो नियति कतिन्जेल बेहोरिरहनुपर्ने हो, यसको प्रष्ट जवाफ सम्बन्धित कसैसँग छैन । 

सामान्यत: फोक्सो पाउन पाँच महिना कुर्नुपर्ने बताइए पनि प्रशा न्युयोर्कस्थित प्रेजवेटेरियन हस्पिटलमा एक वर्षदेखि फोक्सो प्रत्यारोपणका लागि कुरिरहेकी छन् । तैपनि फोक्सो प्रत्यारोपणका लागि सूचीकृत झन्डै दस हजार माझ प्रशाले धैर्यको बाँधलाई रोकेकै छिन् । उनको नाम प्राथकिताका साथ एक नम्बरमा छ ।

फेसबुकमार्फत कान्तिपुरसँग कुरा गर्दै भनिन्, ‘यही हो मानवीय जीवन र नियति । यस्तो अवस्था जसलाई पनि पर्न सक्छ । मलाई पर्‍यो, कसलाई के भनौं ।’ उनले अगाडि थपिन्, ‘पर्खाइले आफंै रित्तिएको र थकित महसुस भएको छ । तर जीवन भोग्ने रहर बाँकी नै छ ।’ 
आमाबाबु र पति दीपक महर्जनसँगै बस्दै आएकी प्रशाकी साढे दुई वर्षको छोरी पनि छिन् । अस्पतालको शय्याबाट नाबालिका छोरीलाई असाध्यै ‘मिस’ गर्ने प्रशालाई जब व्यथाले च्याप्छ, श्वासप्रश्वासमा कठिनाइ हुन्छ, तब छोरीलाई हेर्ने चाहना गर्छिन् । अनि परिवारका सदस्यहरू नाबालिकालाई च्यापेर अस्पताल पुग्छन् । 

हाई स्कुल शिक्षा सिद्धार्थ वनस्थली एवं कालिमाटीस्थित क्यापिटल कलेजबाट ‘प्लस टु’ सिध्याएपछि सन् २००६ काठमाडौं भुरुङखेलकी प्रशा अमेरिका आएकी थिइन् । बक्सिङका पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक प्रकाशधर तुलाधरकी पुत्री प्रशाको अमेरिकामा स्वास्थ्यमा असामान्य स्थिति आएपछि सुरुमा क्षयरोग (टीबी) को आशंका गरियो । केही समय उनले टीबीको औषधि खाइन् तर अन्तत: टीबी नभएको बताइयो ।

सन् २०११ मा चिकित्सकले ‘स्क्लेरोडेमा’ भन्ने छालासम्बन्धी रोग रहेको ठहर गरे । उक्त रोगले फोक्सोमाथि संक्रमण गरेपछि न्युयोर्क विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ पढिरहेकी उनी थला परिन् । फोक्सोले कामै गर्न छोडेपछि अहिले कृत्रिम श्वासप्रश्वास उनको साहारा बनेको छ । गत वर्षको डिसेम्बरमा उपचारमा संलग्न चिकित्सकहरूले एक वर्षभित्र फोक्सो प्रत्यारोपण गरिने बताए पनि त्यो अविध गुज्रिएको छ ।

उपचारका लागि प्रशासँग अमेरिकी सरकारको सामाजिक स्वास्थ्य बिमा कार्यक्रम (मेडिकेयर) को सुविधा पनि छ । तर फोक्सो भेटिएको छैन । न्युयोर्क निकै कम मानव अंग दान हुने राज्यमा पर्छ । जसले प्रशालाई पनि अप्ठेरो परेको छ । चिकित्सकहरूले फोक्सो प्रत्यारोपणमा ढिलाइ भइरहेको र न्युयोर्क बाहिरका राज्यहरूमा जान सल्लाह दिइरहेका छन् । प्रशाको स्वास्थ्य बिमा मेडिकेयरले अन्य राज्यहरूमा पूरा खर्च नबेहोर्ने भएका कारण प्रत्यारोपण खर्चिलो छ ।

बोस्टनको एक अस्पतालले बिमाकै कारण दर्साउँदै प्रत्यारोपण गर्न अस्वीकार गरिसकेको छ । ‘आठ लाख अमेरिकी डलर खर्च हुने भनिएको छ । बिमाले धेरै रकम बेहोरे पनि २० प्रतिशत रकम आफैंले जोहो गर्नुपर्छ,’ प्रशाले भनिन्, ‘अलिकति पैसा भइदिएको भए आँट र हिम्मत हुन्थ्यो ।’ जेनतेन परिवारले दैनिक खर्च धानिरहेको छ । न्युयोर्कबाट प्रकाशित हुने नेपाली भाषाको साप्ताहिक पत्रिका ‘विश्व सन्देश’ ले अर्थ संकलनको अगुवाइ गरेको छ ।

विश्व सन्देशका विजय पौडेलले भने, ‘शुभचिन्तक एवं मित्रको शुभेच्छाले हैसियतअनुसार अर्थ संकलन गरिरहेका छौं ।’ त्यसैगरी ‘गो फन्ड’ नामक आर्थिक संकलन प्लेटफर्मलाई परिचालन गरिएको छ ।


 

Write a Comment

Events
Random Picks