नाटकमा अभिनय गर्दै गर्दा कलाकार साँच्चैको फाँसीको डोरीमा झुण्डिएपछि
3-February-2016

२० माघ |

 घटना यस्तो छ, अभिनय गर्ने क्रममा इटलीमा एउटा कलाकारले फाँसी चढ्नुपर्ने थियो । र, उनी नाटककै क्रममा आफ्नो गलामा फाँसी पनि लगाए । उनी फाँसीमा झुण्डिएपछि धेरैजसो दर्शकले यसलाई अभिनयकै हिस्सा मानेका थिए भने नाटकको टिम तत्काल स्तब्ध भएको थियो ।

फाँसीमा झुण्डिएको केहीबेरमा उनलाई उद्धार गरिएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकहरुले उनी ‘कोमा’ (बेहोसको अवस्था) मा गएको बताएका छन् । समाचार एजेन्सीहरुका अनुसार २७ वर्षीय राफेल शुमाकरले अभिनयकै क्रममा आफूलाई फाँसीको फन्दामा झुण्ड्याएका हुन् । नाटक टिमका सदस्यहरुका अनुसार शुमाकरले नाटकको स्क्रिप्ट विपरीत उक्त गतिविधि गरेका थिए ।

टेट्रो लक्समा सो घटना भएको हो । प्रहरीले सो घटनाका बारेमा अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटनाका साक्षी तथा नाटकको टिमका सदस्यहरुसँग सोधपुछ गरेको छ । प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार उनी उभिनुपर्ने एउटा बाकस हटाइएको थियो भने उनले सुरक्षाका लागि लगाउनुपर्ने उपकरणसमेत लगाएका थिएनन् ।

उनका सहकर्मीका अनुसार फाँसीको फन्दा नक्कली हुनुपर्ने थियो । साथै उनलाई फाँसीमा झुण्डिएको अवस्थामा सहाराको व्यवस्था गरिनुपर्नेमा समेत त्यस्तो नभएको ती कलाकारले बताए । उनले भने, ‘घटना कसरी भयो भन्नेबारे म आफैं चकित भएको छु ।’ यसअघि पनि उक्त नाटक मञ्चनका क्रममा उनले सफलतापूर्वक अभिनय गरिसकेको बताइन्छ । त्यतिबेला उनले अनुहारमा मुखौटो लगाउने गरेका थिए ।

एक स्थानीय अखबारका अनुसार अन्तिम समयमा उनले नाटकको स्क्रिप्टलाई पूर्व सूचना अनुसार परिवर्तन गरेका थिए ।

एजेन्सी

Events
Random Picks