चेल्सीले स्कार्फ बेचेको रकम नेपालका भूकम्पपीडितलाई दिने
24-May-2015

लण्डन, जेठ १० – इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सी फुटबल क्लबले नेपालको भूकम्प पीडितका लागि सहयोग गर्ने जनाएको छ । क्लबले सन् २०१४–१५ प्रिमियर लिग च्याम्पियन ट्रफी स्कार्फ बेचेबापत उठेको रकम नेपालका भूकम्प पीडितहरुलाई दिने घोषणा गरेको हो ।

 

क्लबले डिजास्टर एण्ड इर्मजेन्सी कमिटी (डिइसी) नेपाल अपिल मार्फत भूकम्प पीडितहरुलाई सहयोग गर्ने आफ्नो आधिकारिक वेभसाइटमा जनाएको छ ।

 

क्लब र समर्थकहरुले यसअघि नै डिइसीमा १३ हजार पाउण्ड सहयोग गरिसकेका छन् । क्लबको अन्डर २१ खेलाडीहरुको खेलमा उठेको रकम र उपस्थित समर्थकहरुले आफै उठाएको रकम जम्मा गरिएको हो ।

 

यसको साथै क्रिस्टल प्यालेस विरुद्धको खेलमा उठेको रकम पनि डिइसी र चेल्सी फाउण्डेसनबीच आधा आधा गरिएको थियो ।

 

चित्रमा देखाइएको विशेष स्कार्फ आइतबारदेखि स्टामफोर्ड ब्रिज र चेल्सी स्टोरमा विक्रीमा राखिने छ ।