युरोपमा बाढी : पानीको सतह ३० वर्ष यताकै उच्च
3-June-2016

फ्रान्स, जेठ २२

फ्रान्समा बाढीका कारण मेट्रो रेल सेवासहित अन्य अत्यावश्यक सेवा बन्द भएको छ । पेरिसको सेन नदीम पानीको सतह ३० वर्ष यताकै उच्च भएको छ । यसका कारण मेट्रो रेल सेवा प्रभावित भएको हो ।

यस्तै पेरिसमा रहेको संग्राहलय बन्द गरिएको र त्यहाँ रहेका सामग्रीलाई सुरक्षित स्थानमा लगिएको समाचार संस्था एएफपीले जनाएको छ । लगातारको वर्षाका कारण आएको बाढीले गर्दा युरोप भरमा कम्तिमा १७ जनाको ज्यान गइसकेको छ । बाढीका कारण जर्मनी, फ्रान्स तथा युक्रेनसहितका देश बढी प्रभावित भएका छन् । बाढीका कारण जमर्नीमा मात्रै १० जनाको ज्यान गएको छ ।

रोमानिया, बेल्जियम, अस्ट्रिया, नेदरल्याण्डस र पोल्याण्ड पनि बाढीका कारण प्रभावित भएको छ । बाढीले गर्दा दशौं हजार मानिस विस्थापित भएका छन् । सेन नदीमा पानीको सतह सामान्य भन्दा ६ दशमलव ०७ मिटर बढी रहेको र यसले थप समस्या ल्याउन सक्ने भन्दै सर्तक रहन सरकारी अधिकारीले सर्वसाधारण नागरिकसँग आग्रह गरेका छन् ।