गर्मीले १७०० सयको ज्यान गयो
31-May-2015

हैदरावाद, जेष्ठ १६ - भारतमा गर्मीले खास गरी दुई सहरमा तातो हावा अर्थात् लुबाट साताभित्र ज्यान गुमाउने १ हजार ७ सयभन्दा बढी पुगेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । यो दुई दशकयताकै यो सबभन्दा गर्म मौसम हो। केही क्षेत्रमा मनसुनको भविष्यवाणीसँगै गर्मीबाट राहत महसुस हुन थालेको छ।

दक्षिणी भारतमा प्रचण्ड गर्मीको प्रकोपमा ज्यान गुमाउनेहरूमा निर्माणको काममा लागेका कामदार, वृद्धवद्धा र घरबारविहीन व्यक्ति परेका छन्। अत्यन्त प्रभावित सहर आन्ध्रप्रदेशमा मात्र गत मे १८ देखि हालसम्म १ हजार ३ सय ३४ भन्दा बढीको मृत्यु भएको छ। यो गत

वर्ष लुबाट मारिएकाको तुलनामा दोब्बर हो।

 त्यसैगरी, आन्ध्रप्रदेशको छिमेकी तेलंगानाको तापक्रम ४८ डिग्री पुगेको र त्यहाँ ३ सय ४० भन्दा बढीको मृत्यु भएको छ । त्यहाँ सातादेखि गर्म हावा चलिरहेको थियो।     नयाँदिल्लीस्थित मौसमविद्हरूले हाल भारतको अधिकतम स्थानमा जारी उच्च तापक्रम आगामी सातासम्म रहन सक्ने खतरा रहेको शंका गरेका थिए  । ती दुई राज्यको केही भागमा बादल लागेको छ। पूर्व मनसुनी वर्षाले शुक्रबार केही राहत दिने भनिएको छ।

 दक्षिण केरलामा मेको अन्त्यसम्म मनसुन पुग्नेछ। त्यसपछि मुलुकभर वर्षा हुने संकेत छ। आन्ध्रप्रदेशका प्रमुख मौसम विज्ञान अधिकृत वाईके रेड्डीले उल्लेखीय रूपमा तातो हावामा कमी आएको छ। छिमेकी तेलंगानामा तापक्रम झरेको छ।

यसैबीच तातो हावाका चपेटामा परेकाहरूले भरिएको हुनाले भारतका सरकारी अस्पतालहरूलाई उपचार सेवा दिन धौधौ परेको छ।

‘म यहाँ काम गरेको सात वर्ष भए पनि मैले यो वर्ष निकै गर्मी महसुस गरेको छु, तापले बिरामी परेर हरेक दिन दर्जनौं आइरहेका छन्,’ डा. अञ्जयाले भने। उनी राजीव गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा आबद्ध छन्। ४५.५ डिग्री सेल्सियसम्म तापक्रम पुगेको राजधानी दिल्लीका अस्पतालहरूमा ठूलो संख्यामा बिरामीहरू आएका छन्। ‘गर्मीले निकै टाउको दुखेका, मुर्छा पर्ने र छट्पटाउने लक्षण भएकाहरू बढी आइरहेका छन्,’ देल्ही मेकिडल एसोसिएसनका अध्यक्ष अजय लेखीले भने।

सरकारद्वारा सञ्चालित अस्पतालमध्येको एक अल इन्डिया इन्स्चि्युट अफ मेडिकल साइन्सेस (एम्स) बाहिर भीड लागेको छ। दिल्ली केन्द्रित विज्ञानका लागि शोध संगठन केन्द्रका अनुसार अचानक सुरु भएको गर्मीले धेरैको ज्यान गएको हो। ‘ठन्डापछि एक्कासि तापक्रममा परिवर्तन यसको कारण हो,’ जलवायु परिवर्तनविद् अर्जुना श्रीनिधिले भने। भारतमा प्राय: मार्चदेखि जुनको बीचमा असामान्य उच्च तापक्रमका कारण तातो हावा चल्छ।

मेमा त्यहाँ सबभन्दा बढी गर्मी हुन्छ। तीव्र गर्मीले त्यहाँ धेरैखाले शारीरिक समस्या आउने गर्छ।

तापक्रमले सर्वसाधारण मर्कामा पर्ने भन्दै आन्ध्रप्रदेश र तेलंगाना बिजुली आपूर्तिमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ । आन्ध्रप्रदेशमा श्रमिकलाई लामो समयसम्म दिउँसो घाममा काम नगर्न आग्रह गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूले दिउँसो सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिँड्न, प्रशस्त मात्रामा पानी पिउन र चिसो खाद्यपदार्थको सेवन गर्न सुझाव दिएका छन् ।

 

source:http://www.ekantipur.com/np/2072/2/16/full-story/409940.html

 

 

 


 

Write a Comment

Events
Random Picks