हिट कम्पनीका फ्लप प्रडक्ट्स
16-October-2016

ग्यालेक्सी नोट सेभेन

सार्वजनिक गरेको एक महिनामै सामसुङ कम्पनीले आफ्नो फ्लागसिप ग्यालेक्सी नोट सेभेनको उत्पादनमा पूर्ण विराम लगायो । नोट सेभेनमा आगो लाग्ने घटना साम्य नभएपछि सामसुङले यस्तो निर्णय गर्न बाध्य भएको हो ।

यद्यपि आफ्नो निकै आशा गरिएको तथा बहुप्रतिक्षित उत्पादनलाई बन्द गर्न बाध्य हुने कम्पनीमा सामसुङ एक्लो भने होइन ।

यसअघि पनि कैयन् ठूला ठूला कम्पनीहरुले आफ्ना प्रडक्टहरुका कारण लज्जा तथा घाटा भोग्नुपरेको छ र हठात् बन्द गर्नुपरेको छ । यी हुन् चर्चित कम्पनीहरुले उत्पादन बन्द गरेका फ्लप प्रडक्टहरुः

फेसबुक होमः  फेसबुकले सन् २०१३ को अप्रिलमा एन्ड्रोइड फोनका लागि फेसबुक होम नामक फिचर सुरु गरेको थियो ।

यसले फेसबुक फिडलाई क्षणभरमै प्रयोगकर्तासामु ल्याइदिन्थ्यो । प्रयोगकर्ताहरुले यो फिचर खुबै मन पराएका थिए । दुई हप्तामै यसलाई ५ लाख भन्दा बढिले डाउनलोड गरेका थिए । तर पछि थाहा भयो की यसले त धेरै डाटा खाइदिँदो रहेछ र ब्याट्री पनि छिटै रित्याइदिने । त्यस्तो गुनासोपछि फेसबुकले यसलाई बन्द गरेर आफ्नो ध्यान अरुमा केन्द्रित गर्यो ।

गुगल लाइभलीः  गुगलले सन् २००८ को जुलाई एक थ्री डी एप सुरु गरेको थियो । यसका प्रयोगकर्ताले आफ्नै भर्चुअल संसार बनाउन सक्थे ।

यसको माध्यमबाट प्रयोगकर्ताले आफ्ना अनलाइन मित्रहरुसँग पनि सम्पर्क गर्न सक्दथे । गुगलले यो सफ्टवेयर सित्तैमा उपलब्ध गराएको थियो । तर समस्या यो थियो की लाइभलीबाट बन्ने भर्चुअल वल्र्ड यति सानो थियो की त्यसमा ग्राहकलाई अनलाइन सामाग्रीका लागि ठाउँ नै प्राप्त हुँदैनथ्यो । त्यसैले प्रयोगकर्ताहरुले गुगल लाइभली मन पराएनन् । जसका कारण गुगलले यसलाई महिना दिनमै बन्द गर्नुपर्यो ।

न्यू कोकः यदि तपाइँको कम्पनीले कुनै यस्तो उत्पादन गरिरहेको छ जसलाई सबै प्रयोगकर्ताले निकै रुचाइरहेका छन् भने भुलेर पनि त्यसको ब्राण्ड तथा नामलाई तोडमोड गर्ने काम नगर्नुहोस् । तर कोका कोला जस्तो ठूलो कम्पनीलाई पनि यो कुराको चेतना भएन ।

उसले सन् १९८५ मा पेप्सीको बढ्दो लोकप्रियतासँग मुकाबिला गर्नका लागि आफ्नो ऐतिहासिक लोकप्रिय पेय पदार्थमा परिवर्तन गर्नुपर्ने ठान्यो र न्यू कोकलाई बजारमा उतार्यो । तर मानिसहरुले कोकाकोलाको साटो आएको न्यू कोकलाई पूर्णरुपमा अस्विकार गरे । त्यसपछि कम्पनीले आफ्नो लोकप्रिय कोकाकोलालाई कोक क्लासिकको नामबाट बजारमा ल्याउनुपर्यो ।

कस्मोपोलिटन दहीः  आफ्नो चटपटे पश्नोत्तर तथा सेक्स सम्बन्धी सल्लाहका लागि चर्चित पत्रिका कस्मोपोलिटनलाई एक समय दही उत्पादन गर्ने इच्छा जाग्यो । उसले कस्मोपोलिटन योगर्टको नामबाट दही उत्पादन सुरु गर्यो । तर पत्रिकाले उत्पादन गरेको दहीलाई उपभोक्ताले रुचाएनन् । त्यसैले पत्रिकाले केही समयमै आफ्नो दही उत्पादन गर्ने कार्यलाई बन्द गर्नुपर्यो ।

हार्ले डेभिडसन क्लोनः  बाइकका शौखिनहरुका लागि हार्ले बाइकको नाम सुन्दैमा आँखा अगाडि स्वतन्त्रतापूर्वक खुल्ला सडकमा हुइँकिइरहेको गडगडाहट सहितको बाइकको तस्वीर देखा पर्दछ ।

हार्ले कम्पनीले सन् २००० मा हार्ले बाइकका दुइ नयाँ जुम्ल्याहा मोडल बजारमा ल्याएको थियो । ती दुई मोडल यति नराम्रोसँग असफल भए की कम्पनीलाई सायद अहिलेपनि उक्त असफलताले पिरोल्दो हो ।

माइक्रोसफ्ट जूनः  यो त्यस समयको कुरा हो जब संगीतको आनन्द लिनका लागि मोबाइल फोन मानिसहरुको सबैभन्दा लोकप्रिय श्रोत बनेको थियो ।

जहाँतहीँ आइपडको नाम चलिरहेको थियो । एप्पलको त्यो लोकपि्रयतासँग मुकाबिला गर्नका लागि माइक्रोसफ्टल सन् २००६ मा जून नामक एक प्रडक्ट बजारमा ल्यायो । उक्त प्रडक्ट खुबै हो हल्ला गरी ल्याइएको थियो । तर यसको डिजाइन यति कुरुप थियो की मानिसहरुले यसतर्फ आँखै लगाएनन् र माइक्रोफ्ट त्यसको उत्पादन बन्द गर्न बाध्य भयो ।

ब्यूक डिस्पोजेबल अण्डरवेयरः प्रसिद्ध कम्पनी ब्यूकले डटपेन, रेजर तथा सिगरेट लाइटर बनाएर निकै नाम कमायो । तर कम्पनीका कुनै महासयको दिमागमा यस्तो आइडिया फुर्यो की कम्पनीले यस्तो कट्टु पनि उत्पादन गर्नुपर्दछ जो दाह्री काट्ने रेटर जस्तै युज एण्ड थ्रो गर्न सकियोस् । त्यसपछि कम्पनीले डिस्पोजेबल अण्डरवेयर उत्पादन गर्यो । तर ब्यूकको अण्डरवेयर बिकेन । जसका कारण कम्पनीले छिटै उक्त कट्टुको उत्पादन बन्द गर्नुपर्यो ।

फोर्ड एडसेलः चर्चित कार कम्पनी फोर्डले सन् १९५७ मा फोर्ड एडसेल नामबाट एउटा कार बजारमा उतार्यो । तर उक्त कार बजारमा यति भयंकर रुपमा फ्लप भयो की त्यतिबेला केही असफल प्रडक्टको नाम लिनुपर्दा फोर्ड एडसेलकै नाम लिइन्थ्यो ।

फोर्डले जुनबेला त्यो महंगो कार बजारमा ल्याएको थियो त्यतिबेला विश्व आर्थिक संकटबाट गुजि्ररहेको थियो । सोही कारणले यो कार खासै बिकेन । तर वित्यि संकट सकिएपछि पनि यो कारलाई उपभोक्ताले महंगो माने । लाखौँ कोसिस गर्दापनि एक लाख वटा कारसम्म बेच्न नसकेपछि फोर्डले यसको उत्पादनमा पूर्णविराम लगायो ।

कोलगेट फ्रजेन फूडः  कोलगेट आफ्नो टुथपेस्टका कारण विश्वभर चर्चित छ । तर इच्छा न हो । यो कम्पनीलाई आफ्नो व्यापार अझै बढाउने इच्छा जाग्यो ।

 त्यसपछि उसले फ्रोजेन फूड अर्थात् चिसोमा जमाइएका खानेकुराको व्यापार सुरु गर्यो । तर फ्रोजेन फूडको व्यापारमा कोलगेट पूर्णरुपमा असफल भयो र उसका खानेकुरा फ्रिजमै जमिरहे ।