पाकिस्तान र भारतीय सैनिकबीच तीन घन्टा गोली हानाहान
16-October-2016

२०७३ असोज ३० आइतबार 

पाकिस्तान र भारतीय सैनिकबीच आइतबार तीन घण्टा गोली हानाहान भएको छ । कास्मिरस्थित भिंबेर सेक्टरमा बिहान झन्डै साढे चारदेखि करिब ७ बजेसम्म दुवै मुलुकका सैनिकबीच गोली हानाहान भएको पाकिस्तानी पत्रिका ‘द डन’ ले जनाएको छ । सुरुमा भारतीय सेनाले दुई देशबीच भएको शान्ति सम्झौताको उल्लंघन गर्दै फायरिङ गरेको पाकिस्तानले दाबी गरेको छ । 

इन्टर सर्भिस पब्लिक रिलेशनलाई उदृत गर्दै ‘द डन’ ले बिना कारण भारतीय सेनाले फायरिङ गरेको र पाकिस्तानी सेनाले त्यसको जवाफ दिएको दाबी गरेको हो । 

यता भारतले भने दुवै देशका सीमा सम्बन्धी शान्ति सम्झौताको पाकिस्तानी सैनिकले उल्लंघन गर्दै फायरिङ गरेको दाबी गरेको छ । करिब ५ बजे पाकिस्तानी सैनिकले चार भारतीय चौकिमा मोर्टारले आक्रमण गरेको दाबी गरेको हो । भारतीय सैनिकलाई उधृत गर्दै आजतकले पाकिस्तानी दाबीको प्रतिबाद गरेको छ । करिब तीन घन्टा भएको गोली हानाहानमा मानविय क्षती भने नभएको दुवै पक्षले बताएको छ । 

भारतले पाकिस्तानमाथी सर्जिकल स्ट्राइक गरेको भनेर दाबी गरिएको घटनापछि भारत र पाकिस्तानी सैनिकबीच २० भन्दा बढी पटक सीमामा गोली हानाहान भइसकेको ती सञ्चारमाध्यमले जनाएका छन् ।