चीनमा जहाज डुब्दा ४ सय ५० बेपत्ता
2-June-2015

तुफानमा फँसेर चीनमा पानीजहाज डुबेको छ । चीनको याङ्जी नदीमा जहाज डुब्दा ४ सय ५० जना भन्दा धेरै यात्रु वेपत्ता भएका छन् । पूर्वी शहर नानजिङबाट दक्षिण पश्चिमी शहर चुंगचिङ तर्फ गैरहेको क्रुज जहाज तुफानमा फँसेर डुबेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

इस्टन स्टार नामको सो जहाजमा ४ सय ५ चिनियाँ यात्रु, ५ ट्राभल एजेन्सीका कर्मचारी र चालक दलका ४७ सदस्य सवार रहेको बुझिएको छ । उद्धारकर्मीहरुले २० जनालाई जीवितै उद्धार गरेका छन् । अन्य बेपत्ता यात्रुहरुको खोजीकार्य जारी छ ।

चिनियाँ समाचार एजेन्सी सिन्हुवाका अनुसार जहाज डुब्दा यात्रुहरुले गुहार माग्दै चिच्चाइरहेका थिए । जहाज हुबेई प्रान्तको जियानली क्षेत्रमा डुबेको छ । जहाँ १५ मिटर गहिराइ छ । तर तूफान र वर्षाले उद्धारकार्य केही प्रभावित भएको सिन्हुवाले जनाएको छ ।

चिनियाँ प्रधानमन्त्री ली के कियाङ घटनास्थल जाँदैछन् । उनले उद्धारकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बेइजिङस्थित बीबीसी सम्वाददाताका अनुसार याङ्जी नदीको जहाज डुबेको क्षेत्र सुन्दरताले भरिपूर्ण छ । त्यसैले धेरै पर्यटकहरु त्यसको सुन्दरता अवलोकन गर्न जाने गर्दछन् । जहाज दुर्घटनामा डुबेकाहरु पनि अधिकांश विदा सदुपयोग गर्दै घुम्न गएका थिए ।

यसै वर्षको जनवरी महिनामा याङ्जी नदीमा भएको एक दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

 

source:http://www.mainkhabar.com/ship-crashed-at-chin/