मानिसलाई हटाएर राखियो रोबोट कर्मचारी : जापानमा , रोबोटले खायो मानिसको जागिर
7-January-2017

प्रविधिले मानिसको रोजगारी संकटमा पार्दै गएको र यसले समग्रमा मानव सभ्यतामाथि नै प्रश्न चिन्ह उठाउन थालेको विषयमा बहस हुने गरेको छ । खासगरी अत्याधुनिक रोबोटहरुले मानव श्रमलाई विस्थापित गर्ने र मानिसहरुको रोजगारी खोस्ने चिन्ता भैरहेका बेला जापानमा यो चिन्ता सत्य सावित भएको छ । जापानको एक कम्पनीमा रोबोटले मानिसको जागिर खोसिदिएको छ ।

जापानको एक विमा कम्पनी फुकोकु म्युचुअल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना मानव कर्मचारीलाई हटाएर आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली अर्थात् रोबोटलाई काममा लगाउन सुरु गरेको छ ।

यस क्रममा उक्त कम्पनीका ३० जनाभन्दा धेरै कर्मचारीले जागिर गुमाउनेछन् र त्यसको ठाउँमा रोबोटले काम पाउनेछन् ।

तर घट्दो श्रमशक्तिको मार खेपिरहेको जापानका लागि भने रोबोट कर्मचारी वरदान सावित हुनेछ । श्रमक्षेत्रमा बढि भन्दा बढि रोबोटको प्रवेश गराउन सकिएमा त्यसले देशको घट्दो तथा बुढो बन्दै गएको जनसंख्याले सिर्जना गरेको समस्याको सम्बोधन गर्न सहयोग पुग्नेछ ।

रोबोट कर्मचारी भर्ना सुरु गरेको विमा कम्पनीले रोबोट कर्मचारीको भर्नाले दुई वर्षपछि प्रतिफल दिन सुरु गर्ने आशा गरेको छ ।

उक्त विमा कम्पनीमा भर्ना गरिने रोबोट कर्मचारीहरुले कति जना विमितहरुलाई विमा बापत कति रकम दिनुपर्नेछ भन्ने हिसाबकिताब गर्नेछन् । यी रोबोटहरु आइबिएमको वाट्सन एक्प्लोरर प्रविधिमा आधारित छन् । यो प्रविधिमा आधारित रोबोटले मानिसजस्तै सोँच्न र सिक्न सक्दछ ।

रोबोटहरुले विमितहरुले विमा दाबी गरी पेश गरेका मेडिकल प्रमाणपत्र, अस्पताल बसेका कागजात लगायतका कागजातहरुको अध्ययन गर्न सक्दछन् र विमितहरुलाई कति रकम विमा बापत दिनुपर्दछ भन्ने हिसाबकिताब गर्नसक्ने जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

यद्यपि प्रारम्भमा यी रोबोटहरुले गरेका हिसाबकिताको अन्तिम परीक्षण भने मानिस कर्मचारीहरुले नै गरी प्रमाणित गर्नेछन् । तर प्रारम्भिक हिसाबकिताबमा समय र श्रमको बचत गर्न रोबोटहरुले ठूलो सहयोग गर्नेछन् । जसका कारण वाषिर्क १४ करोड जापानी येन बचत हुने दाबी गरिएको छ । जबकी यी रोबोटको कुल खर्च वाषिर्क १ करोड ४० लाख येन हुनेछ । एजेन्सी